अरुण हत्या प्रकरण : तीन दिनदेखि उठेन शव, पीडित पक्षले राखे यस्ता माग

कैलालीको जानकी गाउँपालिकाको अमरावती सामुदायिक वनमा बीभत्स हत्या गरिएका अरुण दासको शव तीन दिनसम्म उठ्न सकेको छैन ।

मृतकका आफन्तले हत्यारालाई कारवाही गर्नुपर्नेलगायतका माग सम्बोधन नभएसम्म शव उठ्न नदिने अडान लोएपछि शव तीन दिनदेखि उठ्न नसकेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायव उपरीक्षक बेदप्रकाश जोशीले स्थानीयले विभिन्न माग राख्दै अवरोध गरेका कारण शव उठ्न नसकेको बताए । उनले शव उठाउन स्थानीयलाई मनाउने प्रयास भइरहेको बताए । ‘शवको पोस्टमार्टम गर्न र थप अनुसन्धान अगाडि बढाउनु पर्छ,’ ञले भने, ‘यसमा स्थानीयले सहयोग गर्नुपर्छ । बरू पछि अस्पतालबाट शव उठाउँदैन भन्न पाइयो ।’

स्थानीय मृतक दासको न्यायका न्यायका लागि भन्दै संघर्ष समिति बनाएर आन्दिलनमा उत्रेका छन् । उनीहरूले विभिन्न संघर्षका कार्यक्रम पनि सार्वजनिक गरेका छन् ।

दासका हत्याराहरु कानुनी कट्घरामा उभ्याउनका लागि दवाव दिन भन्दै ललित परियारको संयोजकत्वमा संघर्ष समिति बनाएर विभिन्न ४ बुदे माग राख्दै संघर्षका कार्यक्रम सार्वजनिक गरिएको हो ।

अपराधीलाई कानुनी कटघरामा ल्याई आजिवन कारवास हुनुपर्ने, मृतकका परिवारलाई उचित क्षतिपूर्ति हुनुपर्ने, पीडित परिवारलाई सरकारी रोजगारीको ब्यवस्था हुनुपर्ने, पीडितको बालबालिकालाई उचित शिक्षाको ब्यवस्था हुनुपर्ने, पीडित परिवारलाई सुरक्षाको ग्यारेन्टी गर्नुपर्नेलगायतका माग राखिएको छ । माग सम्बोधन गर्ने आश्वासन नआएसम्म घटनास्थलबाट शवलाई उठाउन नदिने पीडित परिवारले अडान कायम राखेका छन् ।

आज(सोमबार) अपराधीका नाममा किटानी जाहेरी दिने, कैलालीको डुडेझारी अन्तरगत पर्ने पूर्वपश्चिम राजमार्ग अवरुद्ध गर्ने र कानुनी वार्ता गर्नेलगायतका संघर्षका कार्यक्रम रहेको संघर्ष समितिका संयोजक ललित परियारले जानकारी दिए ।

हत्या हामीले गरेका हौ भन्ने अडियो छ्यापछ्याप्ती सार्वजनिक भइसक्दा पनि प्रहरी प्रशासनले अपराधीलाई कानुनी दायरामा ल्याउन नसकेको भन्दै पीडित परिवारले आक्रोश ब्यक्त गरेका छन् ।

गएको शनिबार जानकी नगरपालिकाको अमरावती सामुदायिक वनमा २५ वर्षीय अरुण दासको घाँटी रेटेर हत्या गरेको अवस्थामा शव फेला परेको थियो । शव अहिलेसम्म घटनास्थलमै छ ।


५ पुस २०७८, सोमवार ११:३७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु