चीनमा पनि भेटियो ओमिक्रोन भेरियन्ट
छिमेकी देश चीनमा पनि कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको पहिलो संक्रमण पुष्टि भएको छ । उत्तरी शहर तियानजिङमा पहिलो संक्रमित फेला परेका हुन् ।
विदेशबाट आएका एक व्यक्तिमा डिसेम्बर ९ गते ओमिक्रोन पुष्टि भएको चिनियाँ अधिकारीले बताएका छन् । हाल क्वारेन्टाइनमा राखेर संक्रमित व्यक्तिको उपचार भइरहेको छ ।
पूर्वी प्रान्त झेजियाङमा पछिल्ला हप्ता डेल्टा भेरियन्टका संक्रमित बढिरहेको देखिन्छ । डेल्टा भेरियन्टको बढ्दो संक्रमणसँगै ओमिक्रोन भेटिएपछि कोभिड संक्रमण शून्यमा झार्ने चिनियाँ रणनीतिसामु ठूलो चुनौती खडा हुन सक्ने बताइएको छ ।
पहिलो पटक दक्षिण कोरियामा पहिचान गरिएको ओमिक्रोन चीनसहित हालसम्म ६० भन्दा मुलुकमा फैलिइसकेको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले ‘चिन्ताजनक भेरियन्ट’ भनिसकेको ओमिक्रोनबाट बेलायतमा एकजनाको मृत्यु भएको छ ।
यसैबीच, डब्ल्यूएचओले ओमिक्रोन भेरियन्टले उच्च जोखिम सिर्जना गरेको बताएको छ । यो भेरियन्टले विश्वभर जोखिम निम्त्याउन सक्ने र केही प्रमाण हेर्दा खोपको प्रभावकारिता छल्न सक्ने देखिएको डब्ल्यूएचओको भनाइ छ ।
२८ मंसिर २०७८, मंगलवार १४:५६ बजे प्रकाशित












