चारजना सवार मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु
कैलालीको जोशीपुरमा चारजना सवार मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।
जोशीपुर गाउँपालिकाको वडा नम्बर ५ सिमरामा आइतबार राति भएको मोटरसाइकल दुर्घटनामा जिल्लाको लम्कीचुहा नगरपालिका ७ का २५ वर्षीय नरेश रोकायाको मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका रोकायालाई धनगढीस्थित निसर्ग अस्पतालमा पुर्याएपछि डाक्टरलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
प्रहरीका अनुसार लम्की चुहा नगरपालिका वडा नम्बर ७ कै २५ वर्षीय अभिसेक चौधरीले चलाएको बा ०२–०१५ प २७३८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउको फोहर फाल्ने फलामको ड्रममा ठोक्किर दुर्घटना भएको थियो ।
दुर्घटनामा मृतक रोकायासहित लम्कीचुहा वडा नम्बर ७ कै मोटरसाइकल चालक २५ वर्षीय अभिसेक चौधरी, वर्ष २४ का प्रकाश चौधरी र वर्ष २० का जीवन चौधरी घाइते भएका थिए । घाइते भएपछि रोकायासहित ४ जनालाई उपचारको लागि धनगढीस्थित निसर्ग अस्पतालमा ल्याइएको थियो ।
सामान्य उपचारपछि डिस्चार्ज भएका अन्य तीन जना घाइतेहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रतीक बिष्टले जानकारी दिए ।
२२ कात्तिक २०७८, सोमवार ०९:०४ बजे प्रकाशित































