कोरोनाको कारण वडाध्यक्षको निधन
नुवाकोटको तारकेश्वर गाउँपालिका–४ का वडाध्यक्ष राममणि अधिकारीको निधन भएको छ।कोरोना सङ्क्रमित भएर काठमाडौँस्थित मनमोहन अस्पतालमा उपचार गराउँदै आएका ७७ वर्षीय अधिकारीको शनिबार बिहान निधन भएको गाउँपालिकाका अध्यक्ष रमेशबहादुर वस्तीले जानकारी दिए।
गत असार दोस्रो साता कोरोना संक्रमण भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। कोरोनामुक्त भए पनि फोक्सो र कलेजोमा समस्या देखिएपछि उनको उपचार हुँदै आएको थियो।नेकपा (एमाले)बाट वडाध्यक्षमा निर्वाचित अधिकारी यसअघि साविकको बुधसिंह गाविसबाट दुईपटक गाविस अध्यक्षमा निर्वाचित भएका थिए।
एमालेमा आबद्ध रहेर लामो समयसम्म पार्टीको जिम्मेवारी पूरा गरेका वडाध्यक्ष अधिकारीको निधनले स्तब्ध बनाएको पार्टीका जिल्ला अध्यक्ष नारायणप्रसाद खतिवडाले बताएका छन्। रासस
७ कात्तिक २०७८, आइतवार १०:२० बजे प्रकाशित













