महाकालीमा फसेकाको उद्धार गर्न हेलिकप्टर मगाइयो

कञ्चनपुरमा महाकाली नदीको बाढीमा पाँच जना फसेका छन् ।जिल्ला प्रहरी कार्यालयका अनुसार भीमदत्त नगरपालिका–९ खल्लामुसेट्टीमा कुखुराको फार्म सञ्चालन गर्दै आएका पाँचजना महाकाली नदी र स्थानीय खहरे खोलाको बीच टापुमा फसेका हुन् ।

महाकाली नदी र खहरे खोलामा बाढी आउँदा मसेट्टीका ४५ वर्षीया दीर्घमती खड्का, ३५ वर्षीय पुष्कर नायक, ३२ वर्षीया शान्ती नायक, ९ वर्षीय अशोक नायक र पाँच वर्षीय अजय नायक टापुमा फसेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले उनीहरुको उद्धारका लागि प्रयास भइरहेको बताउँदै पानीको सतह बढी हुँदा समस्या भइरहेको बताए ।प्रभावित क्षेत्रमै पुगेकी प्रदेश सरकारी प्रवक्ता समेत रहेकी आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशीले उनीहरुको उद्धारका लागि हेलिकप्टर मगाइएको बताइन् ।

सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर मगाइएकाले बाढीमा फसेकाहरुको सुरक्षित उद्धार गरिने उनले बताइन् ।प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआइजी) पुरुषोत्तम कडेल पनि कञ्चनपुरको बाढी प्रभावित क्षेत्रमा पुगेका छन् ।


२ कात्तिक २०७८, मंगलवार १४:०८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु