दसैं मिलनमा विकासबारे सम्वाद
कैलालीको टीकापुरमा दसैं मिलन तथा सम्वाद कार्यक्रम गरिएको छ । टीकापुर सरोकार समूहको आयोजनामा भएको दसैं मिलन तथा सम्वाद कार्यक्रममा टीकापुर क्षेत्रको विकासका बारेमा छलफल गरिएको हो । कार्यक्रममा सहभागिहरुले टीकापुरको समग्र विकास र समृद्धिको निमित्त विभिन्न अवधारणा प्रस्तुत गरेको टीकापुरका स्थानीय सम्राटबिक्रम शाहले बताए ।
समूहले मानबीय र परोपकारी काम पनि गर्दै आएको उनले बताए । ‘कोरोना महामारीका बेला टीकापुर अस्पतालमा अक्सिजन अभियान संचालन, शवबाहनसमेत उपलब्ध गराएका थियौं,’ उनले भने ।अस्पतालमा प्रयोगशाला भवन पनि निर्माण गर्न थालिएको उनले जानकारी दिए ।
कार्यक्रममा टिकापुरको पर्यटन विकास, सडक निर्माण र सिमा नाका खुल्नुपर्नेलगायतका विषयमा छलफल भएको उनले बताए ।सहभागिहरुले चिल्ला सडक र गगनचुम्बी महल बनाउँदैमा विकास र समृद्धि पूर्ण नहुने भन्दै सीमान्तीकृत वर्ग र हरेक नागरिकको मानव विकास सूचकांकले वास्तविक समृद्धिको मापन गर्नुपर्ने बताएका थिए ।
टीकापुर सरोकार समूह नीति तथा दृष्टिकोण अनुसन्धान तथा बहस चलाउने उद्देश्यले गठित ‘थिन्क ट्यान्क’ समेत हो । हाम्रो घर हाम्रो टीकापुरको समग्र उत्थान तथा पुनर्जागरणको निमित्त टीकापुर सरोकार समूहले भविष्यमा समेत यो शृङ्खलालाई निरंतरता दिने आयोजकले जनाएको छ ।कार्यक्रममा राजनीतिक दलका नेता, वृद्विजिवीलगायत स्थानीयको सहभागिता रहेको थियो ।
१ कात्तिक २०७८, सोमवार २०:२१ बजे प्रकाशित













