punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भारतमा रोजगारी गरी घर फर्किनेले गाउँमा बढ्यो चहलपहल

Chaupati
safha napa

छिमेकी मुलुक भारतमा रोजगारी गरेर घर फर्किने डोटेलीहरूको केही दिनयतादेखि लर्को लाग्न थालेको छ । रोजगारीका लागि भारतका विभिन्न सहर पुगेका डोटीसहित समग्र सुदूरपश्मिवासी अहिले दशैँ नजिकिँदै गएकाले घर फर्किने गरेका छन् ।

भारतबाट रोजगारी गरी घर आउन थालेका यहाँका नागरिकका कारण अहिले जिल्ला सदरमुकाम तथा यहाँका गाउँघरमा निकै चहलपहल बढेको छ । रोजगारीबाट घर फर्किएका जिल्लाका नागरिकका कारण अहिले तराईबाट पहाड आउने गाडी पनि भरिभराउ हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलले जनाएको छ ।

भारतबाट आउने जिल्लाका नागरिकको सङ्ख्या बढेको र कोरोना महामारी कायमै रहेकाले कोरोना जोखिमबाट सजग रहन स्थानीय प्रशासनले सबैमा आग्रह गरेको छ । यसै सिलसिलामा घरको खेतीपातीको काम सकेर यहाँका नागरिक कामका लागि छिमेकी मुलुक भारत गएका थिए । भारतमा कामका लागि गाउँघरमा स्थानीयवासी गएका कारण गाउँघर प्रायः सुनसान अवस्थामा थिए । अहिले उनीहरु धमाधम गाउँमा फर्किन थालेका कारण गाउँमा चहलपहल बढेको जोरायल गाउँपालिका–६ निरौलीका स्थानीयवासी डम्बरबहादुर बोहराले बताए ।

दशैँ आउन अझै थुप्रै दिन बाँकी रहे पनि यहाँका नागरिकले आफ्ना घर पोत्ने तथा कमेरो लगाउने काम पनि सुरु गरेकाले गाउँमा निकै रौनकता छाएको स्थानीयवासी बताउँछन् । जिल्लाको शिखर नगरपालिका–१ साफरीगाउँमा किसनसिंह साफरी एक वर्षअघि गहुँखेती लगाएर परिवारसहित रोजगारीका लागि भारत गएका थिए ।

भारतमा एक वर्ष रोजगारी गरी अहिले दशैँका लागि भन्दै उनको परिवारसहित घर फर्किएको छ । किसनसिंह मात्र होइन, रोजगारका लागि भारतलगायत अन्य तेस्रो मुलुक गएका डोटीसहित समग्र सुदूरपश्चिमेली अहिले घर फर्किन थालेका हुन् । भारतको उत्तराखण्ड रोजगारी गरेर दशै मनाउनकै लागि घर फर्किनु भएका जिल्लाको केआइसिंह गाउँपालिका–४ का अर्का स्थानीयवासी दीपकबहादुर कामी पनि अहिले आफ्ना परिवारसहित घर फर्किएका छन् ।

कोरोना सङ्क्रमणका कारण खासै कमाइ गर्न नपाए पनि दशैँका लागि घरपरिवारलाई नयाँ लुगा कपडा लिएर आएको उनले बताए । “पैसा कमाउन त सकिनँ, वर्ष दिनको पर्व दशैँ घरपरिवारसँग मनाउन घर फर्किएको छु, दशैँ–तिहार सकिएपछि पुनः कामका लागि उतै फर्किन्छु,” उनले भने ।

यसैगरी दशैँ मनाउनकै लागि भारतबाट रोजगारी गरी आएका दिपायल सिलगढी नगरपालिका–८ लडागडाका रामबहादुर कठायत पनि बुधबार मात्रै घर फर्किएका छन् । कोरोनाका कारण गएको वर्ष दशैँ मनाउन घर आउन नपाएको बताउँदै उनले भने , “पैसाभन्दा ठूलो घरपरिवार हो, गत वर्ष कोरोनाले आउन पाइनँ, यस वर्ष कोरोना केही शान्त भएकाले परिवारसँगै दशैँ मनाउन आएँ, खुसी छु ।”

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार दैनिक २०० देखि ३०० नेपाली कैलालीका त्रिनगर र कञ्चनपुरको गड्डाचौकी नाका हुँदै नेपाल फर्किने गरेका छन् । आफ्नो देशमा रोजगारी नपाउनु, पाइहाले पनि न्यून पारिश्रमिकमा काम गर्नुपर्ने, औषधिसमेत राम्रो नपाइने भएपछि सुदूरपश्चिम प्रदेशबाट रोजगारीका लागि वर्षेनी भारत जानेको सङ्ख्या दिनप्रतिदिन बढ्दो छ ।

भारतबाट घर फर्किँदै गरेका नेपालीलाई सीमामा सास्ती नहोस् भन्नका लागि त्रिनगर र गड्डाचौकी नाकामा चाडपर्व लक्षित सीमा सहायता कक्ष स्थापना गरिएको प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेलले बताए । “नेपालीलाई घर फर्किँदा सीमामा कुनै समस्या नहोस् भन्नका लागि सहायता कक्ष स्थापना गरिएको छ, कुनै समस्या भए प्रहरीलाई खबर गर्दा हुन्छ,” उनले भने ।

यसैगरी डोटीमा दशैँ, तिहार तथा छठपर्वलाई लक्षित गर्दै प्रहरीले नागरिक सहायता कक्षसमेत स्थापना गरेका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी बलको ३६ नम्बर गणले सवारी साधन जाँचमा कडाइ तथा जिल्लाको शान्ति सुरक्षा कायम गर्न बजारमा गस्तीसमेत गर्दै आएका छन् ।रासस


१४ असोज २०७८, बिहीवार १५:०४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु