महाकाली लोकमार्ग खण्डमा आवातजावत सुचारु
महाकाली लोकमार्ग अन्तर्गत दार्चुलाको गोकुलेश्वर सडक खण्डको चुइने भीरमा सवारीको आवातजावत सुचारु भएको छ । महाकाली नगरपालिका ९ को वेत चुइने भीरमा सडक भाँसिदा सडक ठूला सवारी साधन अवरुद्व भको थियो । अवरुद्व सडक शनिबार रातीदेखि सुचारु भएको निर्माण व्यवसायीले जनाएको छ ।
गत भदौ २ गते सडक भासिएपछि यो क्षेत्रमा ठूला सवारी साधन चल्न सकेका थिएनन् । हुनैनाथ नाथ रानीबाँश निर्माण सेवाले सडक मर्मत सम्भार गरेपछि निर्माण कार्य सुचारु भएको निर्माण व्यवसायी नरेन्द्रसिह धामीले बताए ।
यो क्षेत्रमा अस्थायी रुपमा बाटो खुलाएर केही दिन यातायात सुचारु गरिएको थियो । तर सडकको तलपट्टी पर्खाल लगाउनुपर्ने अवस्था आएपछि ठेकेदारले गत भदौ २६ गते ठूला सवारी साधन चल्न रोक लगाएर काम सुचारु गरेको थियो ।
निर्माण व्यवसायीले दुई साता लगाएर पर्खाल लगाउने सकिएको धामीले बताए ।मर्मतको काम सकिएपछि आइतबार देखि सडक पूर्ण रूपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय दार्चुला प्रमुख प्रहरी नायव उपरीक्षक मनोहर भट्टले बताए ।
११ असोज २०७८, सोमवार ०८:१५ बजे प्रकाशित












