एनपी र रमेशको भिडन्तले दिवान मालामाल

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका विश्वास पात्रबीचको आपसी द्धन्दले कञ्चनपुरमा इतर समूह मौलाएको छ । राष्ट्रिय राजनीतिमा देउवाका विश्वास पात्र मानिने एनपी साउद र रमेश लेखकबीचको द्वन्द्वले इतर समूहमा रहेका दिवानसिंह विष्टको समूह जिल्लामा मौलाएको छ ।

साउद र लेखकबीच लामो समयदेखिको अस्वस्थ प्रतिष्पर्धाले संविधानसभा सदस्य विष्टले कञ्चनपुरमा आफ्नो समूह विस्तार गर्ने अवसर पाएका छन् । उनले दुई नेताबीचको आन्तरिक विवादको फाइदा उठाउँदै गाउँरनगरपालिका अधिवेशनमा आफूनिकट नेताहरुलाई नेतृत्वमा ल्याएका छन् ।

कञ्चनपुरको दक्षिणी क्षेत्रबाट राजनीतिक गर्दै आएका विष्टले शनिबार सम्पन्न पालिका अधिवेशनमा निर्वाचन क्षेत्र नम्बर १ का चार पालिकामा आफूनिकटलाई सभापतिमा जिताएका छन् । उनले पुनर्वास नगरपालिका, बेलौरी नगरपालिका, बेलडाँडी गाउँपालिका र लालझाडी गाउँपालिकामा आफू निकटलाई पालिका सभापतिमा जिताएका हुन् ।

पुनर्वास नगरपालिकामा सुकबहादुर तामाङ नगर सभापतिमा विजयी भएका छन् । तामाङले नेता लेखक निकट दिलबहादुर बोहरालाई १० मतले पराजित गरेका छन् । लालझाडी गाउँपालिकामा लेखकनिकट राजेश रानालाई दोब्बर मतान्तरले पराजित गर्दै विष्टका उम्मेदवार श्रीकृष्ण राना सभापतिमा निर्वाचित भएका छन् ।

बेलडाँडी गाउँपालिकामा लेखक निकट पृतबहादुर विष्टलाई आठ मतले हराउँदै विष्ट निकट गजबहादुर विष्ट सभापति बनेका छन् । बेलौरी नगरपालिकमा विष्टका उम्मेदवार पेपुराम चौधरीले लेखकका उम्मेदवार विक्रम चन्दलाई १० मतले पराजित गरेर नगर सभापति बनेका छन्। बेलौरीमा खसेको एक सय ८२ मध्ये चौधरीले ९० र चन्दले ८० मत ल्याएका छन् ।

क्षेत्र नम्बर १ का चारवटै पालिकामा नेता साउदले भने उम्मेदवार नउठाएको बताइएको छ । यस्तै नेता विष्टले साउदको निर्वाचन क्षेत्र नम्बर २ मा पनि इतर समूहबाट कसैलाई उम्मेदवार बनाएका छैनन् ।

१ र २ को चुनावी प्रतिष्पर्धा हेर्दा साउन र विष्टबीच चुनावी तालमेल भएको हुन सक्ने आंकलन गरिएको छ । तर, तालमेलका बारेमा साउद र विष्टनिकटका नेताहरुले आधिकारिक रुपमा केही प्रतिक्रिया दिएका छैनन् ।

साउदले आफूले निर्वाचन लड्दै आएको क्षेत्रका कृष्णपुर र शुक्लाफाँटा नगरपालिकामा सर्वसम्मत नेतृत्व चयन गरेका छन् । दुई नगरपालिकामा साउदको वर्चश्व छ। स्रोतका अनुसार दुई नगरपालिका कार्यसमितिमा लेखक निकटका नेताहरु कार्यसमितिको पदाधिकारीमा अटाएका छैनन् ।

साउद आफु्नै निर्वाचन क्षेत्रमा पर्ने वेदकोट नगरपालिकामा भने लेखकसँग पराजित भएका छन् । वेदकोटमा साउदले अघि सारेका सभापतिका उम्मेदवार पुष्पराज भट्टलाई पराजित गर्दै लेखकका उम्मेदवार तुलाराम साहु सभापति बनेका छन् ।

वेदकोट नेता लेखकको गृहनगर हो । उक्त नगरपालिकामा साहुलाई लेखकसँगै जिताउन जिल्ला सभापति हरिप्रसाद बोहरा, संविधानसभा सदस्य बलदेव बोहरा लागेका थिए ।

साउदले लेखकलाई उनकै निर्वाचन क्षेत्रमा प्रवेश गरेर चुनौती दिन खोजेका थिए। त्यसका लागि उनले संस्थापन इतर समूहबाट बिद्यार्थी राजनीति गर्दै आएका आशिष खत्रीलाई भीमदत्त नगरपालिकामा उम्मेदवारका रुपमा अघि सारेका थिए ।

यद्यपि, उनको प्रयास सफल भने हुन सकेन । नेता साउदको प्यानल भीमदत्तमा ‘क्लिन स्वीप’ भएको छ । लेखकले निर्वाचन लड्दै आएको निर्वाचन क्षेत्र नम्बर ३ मा पर्ने दोधारा–चाँदनीमा भने सर्वसम्मत नेतृत्व चयन गरेका छन् ।


१० असोज २०७८, आइतवार १७:१४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु