पार्किङस्थल प्रयोगविहीन, ‘नो पार्किङ’मा खचाखच सवारी साधन
सुदूरपश्चिम प्रदेशको अस्थायी राजधनीसमेत रहेको धनगढी उपमहानगरपालिकाको बजार क्षेत्रमा स्थायी पार्किङ स्थलको अभाव छ । बजारको मुख्य सडकमा जथाभावी पार्किङ गर्ने परिपाटी बढेपछि धनगढी उपमहानगरपालिको बजारका विभिन्न तीन वटा स्थानमा निःशुल्क मोटरसाइकल पार्किङ स्थल निर्माण गरेको थियो ।
दुर्घटना राक्न र व्यवस्थित बनाउन तयार गरिएका पार्किङ स्थलहरू प्रयोगमा आउन सकेनन् । पार्र्किङ स्थल अहिले सुनसान छन् । बरु जहाँ ‘नो पार्किङ’ भनेर लेखिएको त्यहाँनै बढी सवारी साधन जथाभावी पार्किङ भइरहेका छन् ।
उपहानगरपालिकाले एलचोक, जनस्वास्थ्य कार्यालय र जिल्ला प्रशासन कार्यालय नजिक बनाएका पार्किङ स्थल भन्दा बढी सेती प्रादेशिक अस्पताल क्षेत्र अघि मोटरसाइकलको चाप बढी देख्न सकिन्छ । जहाँ पार्किङ गर्ने अनुमति छैन ।
बढी सवारी चाप हुने यो ठाउँमा उपमहानगरपालिकाको समन्वयमा ट्राफिक प्रहरीले ‘नो पार्किङ’ भनेर बोर्ड नै राखेको छ । ‘पार्किङको व्यवस्थापन नहुँदा दुर्घटनाको जोखिम बढेको छ,’ स्थानीय सरोज रानाले भने ‘भएको पार्किङ स्थल पनि प्रयोग नहुँनु विडम्बना हो ।’ उनले अस्पताल अघिको साँघुरो सडकमा जथाभाबी पार्किङ गर्दा दुर्घटनाको जोखिम बढाएको बताए ।
प्रयोगविहीन जस्तै भएको पार्किङ स्थललाई बढी प्रयोगमा ल्याउनु पर्ने त्यस क्षेत्रका व्यापारीहरूको पनि माग छ । ‘अस्पताल अगाडिको अव्यवस्थित पार्किङले आवतजावतमा समेत समस्या भइरहेको छ’ स्थानीय भक्तराज चौधरीले भने ‘यसको तत्काल व्यवस्थापन गर्न आवश्यक छ ।
नगरपालिकाले तोकेको निःशुल्क पार्किङ स्थलमा भने कसैले पनि पार्किङ नगरिरहेको अवस्था छ । ‘अव्यवस्थित ढङ्गले यत्रतत्र मोटरसाइकल लगायतका सवारी साधन राख्दा दुर्घटनाको जोखिम बढेको सर्वसाधारणको मात्रै होइन ट्राफिक प्रहरीको पनि ठहर छ,’ जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी निरीक्षक बिरेन्द्र बोहराले भने ‘सडक साँघुरो छ त्योसँगै त्यहाँ अटो रिक्सा बढी चल्छन् अनि पार्किङ पनि जथाभाबी छ । अटो रिक्सा लगायत अन्य सवारी साधनहरू पाकिङको थप व्यवस्थापन हुन्छ ।’
केही महिना भने अस्पताल लाइन क्षेत्रमा सवारी पार्किङ पूर्ण रुपमा निशेष भएको थियो । तर अहिले भने नियमको पूर्णरुपमा उलंघन भएको छ । उपमहानगरपालिकाले पनि ट्राफिक प्रहरीसग छलफल गरेर पार्किङको व्यवस्थापन गर्ने जनाएको छ ।
विगतमा पार्किङको व्यवस्थापन गरेको बारे धेरैलाई जानकारी नरहेको धनगढी उपमहानगरपालिका प्रवक्ता एवम् वडा नम्बर १ का अध्यक्ष सन्तोष मुडभरीले बताए । ‘हामीले तयार गरेको पार्किङ स्थलबारे धेरैलाई थाहा नभएर समस्या भएको हो,’ उनले भने, ‘अब प्रहरीसँग समन्वय गरेर कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा छलफल गरिरहका छौँ ।’
जथाभावी रपमा सवारी पार्किङ गर्दा बजार क्षेत्रमा दुर्घटनाको जोखिम बढ्दै गइरहेको छ । बढी चाप हुने अस्पताल लाइन क्षेत्रमा झन बढी दुर्घटनाको जोखिम रहेको स्थानीय व्यापारीहरुको भनाई छ ।
१० असोज २०७८, आइतवार १६:५३ बजे प्रकाशित












