प्रतिनिधिसभाको बैठक दिउँसो बस्दै, आज पनि अवरुद्ध गर्ने एमालेको तयारी

प्रतिनिधिसभाको बैठक आज (आइतबार) दिउँसो बस्दैछ। संघीय संसद सचिवालयका अनुसार दिउँसो १ बजेका लागि संसद बैठक डाकिएको हो।प्रमुख प्रतिपक्षी दल एमालेको विरोधका बाबजुध सरकारले प्रतिस्थापन विधेयकबाट बजेट ल्याएपछि पहिलोपटक आज संसद बैठक बस्न लागेको हो।

एमालेले आज पनि बैठक चल्न नदिने तयारी गरेको छ। एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले सभामुखले आफ्ना मागहरुप्रति वेवास्ता गरेकाले आजको बैठक पनि चल्न नदिने बताए।

गएको शुक्रबार एमालेको विरोधका बीच अर्थमन्त्री जनार्दन शर्माले बजेट प्रतिस्थापन विधेयक संसदमा प्रस्तुत गरेका थिए।पछिल्लो समय एमालेले लगातार संसद बैठक अवरुद्ध गर्दै आएको छ। एमाले फुटाउन सभामुख अग्नी सापकोटाले भूमिका खेलेको आरोप एमालेको छ। एकीकृत समाजवादीतिर लागेका आफ्ना १४ सांसदलाई गरिएको कारबाही सभामुखले सदर नगरेको आरोप एमालेले लगाएको छ।

कांग्रेस, माओवादी लगायतका सत्तारुढ दलले भने एमालेको माग असंवैधानिक भएको तर्क गरेका छन्। सभामुख सापकोटाले पनि अदालतमा विचाराधिन तत्कालिन एमाले सांसदमाथिको कारबाहीको विषयमा संसदमा वहस हुन नसक्ने प्रस्टीकरण दिएका छन्।


२७ भदौ २०७८, आइतवार ०९:०५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु