punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सरकारले भारतलाई दुईवटा विरोधपत्र पठायो

Chaupati
safha napa

सरकारले दार्चुलाको तुइन खुस्काएको घटना र त्यसपछिका केही सातामा सोही जिल्लास्थित नेपाली सेनाको ब्यारेकमाथि बारम्बार अनधिकृतरुपमा हेलिकप्टर उडाएको विरोधमा भारत सरकारलाई दुईवटा बेग्लाबेग्लै असन्तुष्टिपत्र ‘कूटनीतिक नोट’ पठाएको छ।

दुवै घटनाको अनुसन्धान गरी दोषीउपर कानुनी कारवाही गर्न परराष्ट्र मन्त्रालयले गत शुक्रबार र आइतबार छुट्टाछुट्टै कूटनीतिक नोट पठाएको हो। “तुइन घटनाबारे नेपाल सरकारलाई जानकारी दिन पहिलो कूटनीतिक नोट भदौ १८ गते तथा नेपाली आकाशमा अनाधिकृतरुपमा हेलिकप्टर उडाइएकाका सम्बन्धमा भदौ २० गते अर्को नोट यहाँस्थित भारतीय राजदूतावासमार्फत भारत सरकारलाई पठाएका छौँ”, परराष्ट्र मन्त्रालयका एकजना उच्च अधिकारीले स्रोत उल्लेख नगर्ने शर्तमा बताए।

गृहमन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा गठित छानबिन समितिको प्रतिवेदनका आधारमा भारतलाई विरोधपत्र पठाइएको बताउँदै ती अधिकारीले नेपाल र भारतबीचका सबै समस्याको समाधान कूटनीतिक माध्यमबाट गर्न नेपाल सरकार प्रतिबद्धता दोहोर्‍याए।

नेपाल र भारतबीचको शताब्दीऔँ पुरानो बहुआयमिक सम्बन्ध सानातिना समस्याबाट प्रभावित हुनुहुँदैन भन्ने मान्यताका साथ दुवै घटनाको वास्तविकताबारे बुझ्न पनि कूटनीतिक नोटमा ध्यानाकर्षण गराइएको छ।

गत साउन १५ गते दार्चुलाको व्यास गाउँपालिका–२ खाङ्दाङ्का जयसिंह धामीको स्थानीय मालघाटबाट तुइन तर्ने क्रममा तुइनको तारसँगै महाकाली नदीमा खसेर बेपत्ता भएको घटनामा एसएसबीको संलग्नता रहेको निष्कर्षसहितको प्रतिवेदन छानबिन समितिले यही भदौ १५ गते सरकारसमक्ष प्रस्तुत गरेको थियो।

छानबिन समितिको प्रतिवेदनको निष्कर्ष नेपाल सरकारले सार्वजनिक गरेपछि नयाँदिल्लीमा विदेश मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङ’मा सो मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले त्यसबारेमा भारत सरकारलाई औपचारिक जानकारी प्राप्त नभएको प्रतिक्रिया दिएका थिए।

जयसिंह धामीको खोजीमा महाकाली किनारमा ‘ड्रोन’ उडाउन जिल्ला प्रशासन कार्यालय दार्चुलाले गरेको अनुरोधको कुनै प्रत्युत्तर नदिई भारतले महाकालीवारिका बस्ती, सेना, प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका संरचनामाथि बारम्बार हेलिकप्टर उडाएको थियो। रासस


२२ भदौ २०७८, मंगलवार २०:०५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु