अमेरिकी गुप्तचर निकाय सीआइए प्रमुख र तालिबानका उपनेता बीच काबुलमा गोप्य भेट

अमेरिकी गुप्तचर निकाय ९सीआइए० प्रमुख र तालिबानका उपनेता मुल्ला अब्दुल गनी बारादरबीच काबुलमा गोप्य भेटवार्ता भएको अमेरिकी ‘द वाशिङ्गटन पोस्ट’ले जानकारी गराएको छ। अमेरिकी संघीय गुप्तचर निकाय प्रमुख विलियम बर्न्स र बारादरबीच सोमबारको भेट वार्ता भएको अमेरिकी उक्त पत्रिकाले उल्लेख गरेको छ।

अफगानिस्तानमा बीस बर्षदेखि अमेरिकासँग लड्दै आएको तालिबानसँग जो बाइडेन प्रशासनको अहिलेसम्मकै उच्चस्तरीय भेटवार्ता भएको हो। सीआईएले भने यस मामिलामा टिप्पणी गरेको छैन। यस बैठकमा अफगानिस्तानबाट अमेरिकी फौज निकाल्ने अगस्त ३१ को समय सीमा विस्तार गर्ने विषयमा छलफल समावेश भएको हुनसक्ने ‘द वाशिङ्गटन पोस्ट’ द्वारा सम्प्रेषित समाचारमा उल्लेख गरिएको छ।

बाइडेन प्रशासनका सबैभन्दा विश्वस्त कूटनीतिज्ञ बर्न्सले विदेशी सेवामा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। झन्डै ११ वर्षअघि बारादरलाई सीआईएले संयुक्त अमेरिकी–पाकिस्तान मिशनमा गिरफ्तार गरेर आठ वर्षसम्म जेलमा राखेको थियो। तालिबान नेता बाराडरले सन् २०१८ मा रिहा भएलगत्तै अमेरिकासँग शान्ति वार्ता शुरू गरेको बताउने गरिएको छ।

तालिबानले अमेरिकी सेनाको बहिर्गमनका लागि अगस्ट ३१ को समय सीमा विस्तार गर्न नसक्ने बताएको थियो। उक्त समूहले अफगानिस्तानबाट उद्धार कार्य जारी राख्न अमेरिका, बेलायतलगायतका पश्चिमी मुलुकलाई कुनै अतिरिक्त समय नदिने बताएको थियो।


९ भदौ २०७८, बुधवार ०९:२५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु