२० प्रतिशत पुष्टि गर्न आज माधव नेपाल र महन्थ ठाकुर पक्ष निर्वाचन आयोग पुग्नुपर्ने
नयाँ दल दर्ताका लागि निवेदन दिएका एमालेबाट अलग भएका माधव नेपाल र जनता समाजवादी पार्टीबाट छुट्टिएका महन्थ ठाकुर पक्षका नेताहरू आज निर्वाचन आयोग उपस्थित हुनुपर्ने भएको छ।
केन्द्रीय कमिटीमा उल्लेख सूचीअनुसारका सदस्य एकिन गर्न आयोगले उनीहरूलाई आज आफैं आउन भनेको हो।यसैले आज नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र ठाकुर नेतृत्वको समाजवादी लोकतान्त्रिक पार्टीका नेताहरू आयोगको कार्यालय जानुपर्ने भएको हो।
पहिलेका पार्टीबाट अहिलेका नयाँ दलका केन्द्रीय कमिटीमा नाम राखिएका व्यक्तिको संख्या सरकारले हालै जारी गरेको दल विभाजनसम्बन्धी अध्यादेशअनुसार २० प्रतिशत पुगे मात्र दल दर्ता हुन्छन्।
तसर्थ आयोगले दिएको समयअनुसार उनीहरू आज बिहान साढे ११ देखि दिउँसो २ बजेसम्ममा आयोगको कार्यालय पुग्नुपर्नेछ।आफ्ना पक्षमा १७ जना कार्यकारीणी सदस्य र १४ जना सांसद रहेकाले संसदीय दलतर्फ ३८ प्रतिशत र कार्यकारिणी समितितर्फ ३३ प्रतिशत रहेको ठाकुर पक्षले दाबी गरेको छ।
९ भदौ २०७८, बुधवार ०९:०९ बजे प्रकाशित












