चन्द्रागिरीमा भर्चुअल सम्बोधन गर्दै झलनाथले भने- जबजको युग सिद्धियो, कसैले अनुसरण गर्न सक्दैन
नेकपा एमालेको वरिष्ठ नेताका रूपमा मिर्गौला प्रत्यारोपण गर्न दिल्ली गएका झलनाथ खनाल नेकपा एकीकृतको वरिष्ठ नेताका रूपमा फर्किने भएका छन् ।चन्द्रागिरी रिसोर्टमा बसेको एकीकृत समाजवादीको केन्द्रीय समिति बैठकलाई दिल्लीबाट भर्चुअल सम्बोधन गर्दै नेता खनालले आफू सोमबार नेपाल फर्किने बताए ।
उनले एमाले विभाजनलाई क्रान्तिकारी व्रिद्रोहको संज्ञा दिदै स्थायी कमिटीका सदस्यहरूले मध्यपन्थी अवसरवादको बाटो लिएर केपी ओलीलाई सघाएको आरोप लगाए ।नेकपा एमालेका पूर्वअध्यक्ष समेत रहेका खनालले मदन भण्डारीबाट प्रतिपादित जनताको बहुदलीय जनवादको युग सकिएको बताए । उनले जनवादी क्रान्ति सम्पन्न भएसँगै अबको कार्यभार समाजवाद रहेको दावी गरे ।
खनालले भने, ‘कमरेडहरु, अब जबजको युग सिद्धियो, त्यसलाई कसैले अनुसरण गर्न सक्दैन, अब हाम्रो प्रष्ट कार्यक्रम समाजवादमा रुपान्तरणको कार्यक्रम हो । हामीले युग अनुसारको बोली बोल्नुपर्छ । युग अनुसारको कार्यक्रम बनाउनुपर्छ ।’
खनालले नेकपा एकीकृत समाजवादीको बारेमा बुझाउन मुखपत्र छाप्ने र केपी ओलीको खण्डनमा सिंगो पंक्ति उत्रिनुपर्ने बताए । उनले सर्वोच्च अदालतको असार २८ को फैसलालाई पुस्तिकाको रूपमा छपाएर देशभर वितरण गर्न समेत आग्रह गरे ।
८ भदौ २०७८, मंगलवार १८:०३ बजे प्रकाशित












