रौतहटका एसपी जिम्मेवारी मुक्त, एसएसपीको नेतृत्वमा छानबिन समिति

पत्रकारलाई फसाउन लागुऔषध राखिएको घटनामा रौतहटका प्रहरी प्रमुख कै संलग्नताको आरोप लागेपछि छानबिन हुने भएको छ। प्रहरी प्रधान कार्यालयले एसएसपी कृष्ण महतको संयोजकत्वमा छानबिन समिति गठन गरेको प्रहरी प्रधान कार्यालय श्रोतले जानकारी दिएको छ।

स्रोतका अनुसार रौतहटका एसपी सिद्धिविक्रम शाहलाई जिम्मेवारी मुक्त गरिने भएको छ।‘उहाँलाई आजै जिम्मेवारी मुक्त गरिन्छ तर कहाँ तान्ने भन्ने निश्चित भइसकेको छैन’, श्रोतले भन्यो।

पत्रकार मोजि बुल्लाह र शेख अतिउल्लाहलाई फसाउन लागुऔषध राखिएको घटना रौतहटका प्रहरी प्रमुख एसपी सिद्धिविक्रम शाहकै योजनामा भएको आशंका गरिएको हो।सपी शाहले यो घटना लगतै घटनाका अभियुक्तसँग गरेको कुराकानीको अडिओ सार्वजनिक भएपछि उनी शंकाको घेरामा परेका हुन्। नेपाल पत्रकार महासंघ रौतहट शाखाले एसपी शाहलाई तत्काल निलम्बन गरेर कारबाही गर्न माग गरेको छ।

गत साउन ३२ गते मोजिबुल्लाहको बीआर ३० एस १८८७ नम्बरको मोटरसाइकलबाट प्रहरीले गौरमा चेकजाँचका क्रममा लागुऔषध नाइट्राभेट १०५ ट्याब्लेट बरामद गरेको दाबी गरेको थियो। तर घटनामा उनीहरुको संलग्नता नदेखिएको र प्रहरीकै संलग्नता रहेको भन्दै दुवै पत्रकारलाई सोमबार छाडिएको छ।

सोमबार नै घटनामा संलग्न रहेको पाइएपछि दुई प्रहरीलाई निलम्बन गरिएको थियो। तर एसपीले घटनामा संलग्नसँग गरेको कुराकानीमा उनकै योजनामा भएको देखिएपछि प्रधान कार्यालयले छानबिन थालेको हो।


८ भदौ २०७८, मंगलवार १७:४९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु