स्वास्थ्य स्वयंसेविकाले गरिन् आफ्नै नवजात शिशुको घाँटी निमोठेर हत्या
बैतडीमा एक स्वास्थ्य स्वयंसेविकाले आफ्नै नवजात शिशुको घाँटी निमोठेर हत्या गरेकी छन् ।
जिल्लाको डिलाशैनी गाउँपालिका ७ ढाँडकी महिला स्वास्थ्य स्वयंसेविका ३५ बर्षीया माधवी कार्कीले आफ्नै नवजात शिशुको हत्या गरेकी हुन् ।
अबैध सम्बन्धबाट गर्भ रहेकाले माधवीले शिशुको जन्मिनासाथ घाँटी निमोठेर हत्या गरेको खुलेको प्रहरीले जनाएको छ ।
आइतबार बिहान १० बजे घर नजिकैको मकैबारीमा शिशु जन्माएकी माधवीले सोही ठाउँमा केराको साप्रोले नवजात शिशुको घाँटी निमोठेर हत्या गरेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए ।
माधवीले नवजात शिशुको हत्या गरेपछि उनका ससुराले प्रहरीलाई जानकारी दिएका थिए । माधवी अहिले प्रहरी नियन्त्रणमा छिन् ।
माधवीका श्रीमान वैदेशिक रोजगारमा गएका र उतै बेपत्ता रहेका प्रहरीले जनाएको छ । गाउँकै एक १७ वर्षीय किशोरसंग माधवीको अबैध सम्बन्ध बताइएको छ । माधवीका १३ वर्षीय छोरा छन् ।
८ भदौ २०७८, मंगलवार १४:१६ बजे प्रकाशित












