माओबादी केन्द्र सुदूरपश्चिम प्रदेशको इन्चार्जमा खगराज भट्ट

नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) सुदूरपश्चिम प्रदेशको इन्चार्जको जिम्मेवारी नेता खगराज भट्टलाई दिइएको छ ।

काठमाडौंमा शनिबार र आइतबार गरी दुई दिन बसेको स्थायी कमिटी बैठकले विभिन्न प्रदेश इन्चार्ज तोक्नेक्रममा भट्टलाई प्रदेश इन्चार्जको जिम्मेवारी दिने निर्णय गरेको हो । उनी यसअघि तत्कालिन नेकपाको सहइन्चार्ज थिए ।

नेकपा हुनु अघि माओकादी केन्द्र सुदूरपश्चिम प्रदेशको इन्चार्जमा लेखराज भट्ट थिए । उनी तत्कालिन नेकपामा हुँदा पार्टीमा देखिएको विवादपछि अध्यक्ष केपी शर्मा ओलीको पक्षमा लागेका थिए ।

पार्टीको विवाद टुंग्याउन सर्वोच्चले दुई पार्टीलाई पुर्ववत् अवस्थामा फर्काएपछि पनि उनी एमालेमै रहेका छन् । उनी अहिले एमाले सुदूरपश्चिम प्रदेशको इन्चार्ज छन् ।

यस्तै, माओवादी केन्द्रको स्थायी कमिटी बैठकले प्रदेश २ मा गणेश साह, बागमतीमा हितमान शाक्य र गण्डकीमा हितराज पाण्डे र कर्णालीमा शक्ति बस्नेतलाई इन्चार्ज तोकेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रदेश १ को इन्चार्ज भने टुंगो लागेको छैन । सुरेन्द्र कार्की र सावित्री काफ्लेमध्ये एक जनालाई प्रदेश १ को इन्चार्जको जिम्मेवारी दिइने बताइएको छ ।

जिल्ला समन्वय समितिको संयोजक चयन गर्ने जिम्मा भने प्रदेश कमिटीलाई दिइएको प्रवक्ता श्रेष्ठले बताए ।


६ भदौ २०७८, आइतवार १९:१० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु