अफगानिस्तानको सत्ता संघर्ष : कमल थापाले गरे ज्ञानेन्द्रको प्रसंशा
राप्रपाका अध्यक्ष कमल थापाले अफगानिस्तानको सत्ता संघर्षसँग जोडेर पूर्वराजा ज्ञानेन्द्र शाहको प्रसंशा गरेका छन्।तालिबान बिद्रोहीले सत्ता कब्जा गर्दा अफगानिस्तानका राष्ट्रपति असरफ गानी देश छोडेर भागेको प्रसंग उठाउँदै थापाले ज्ञानेन्द्रको प्रशंसा गरेका हुन्।
तालिबान बिद्रोही सत्ता कब्जा गर्नुअघि नै आइतबार राष्ट्रपति गानी, उनकी पत्नी, सेना प्रमुख र राष्ट्रिय सुरक्षा सल्लाहकारले देश छाडेका थिए। उनीहरु उज्बेकिस्तानको राजधानी तासकन्द गएका छन्।
यही सन्दर्भलाई जोड्दै थापाले ०६३ मा देशमा गणतन्त्रको स्थापना हुँदा पनि तत्कालिन राजा ज्ञानेन्द्रले देश नछाडेको प्रसंग उठाएका हुन्।
‘तालिबानी बिद्रोहीले सत्ता कब्जा गर्न लाग्दा अफगानिस्तानका राष्ट्रपति देश छोडेर भागेको घटना देख्दा राजा ज्ञानेन्द्रप्रति मेरो सम्मान अझै बढेको छ,’ थापाले सोमबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘२०६३ पछि देश भित्रै रहेर देश र जनताको सेवामा समर्पित हुने राजा ज्ञानेन्द्रको निर्णय दूरदर्शी छ। राजा र राष्ट्रपतिबीचको फरक पनि यही हो।’
३२ साउन २०७८, सोमवार ०८:३३ बजे प्रकाशित






























