डमरु हुर्काउन मसुरिया पुग्यो बाघ

डमरु हुर्काउन पोथीबाघ मसुरिया क्षेत्रमा आइपुगेको छ। भाले बाघबाट बच्चा (डमरु) जोगाउन पोथी बाघ दुई डमरुसहित मसुरिया क्षेत्रमा आइपुगेको छ। भाले बाघले भर्खरै जन्मेका डमरु खाइदिने भएकाले पोथी बाघ डमरु सुरक्षित गर्न वसन्ता जैविक मार्गहुँदै सहायक मार्ग मसुरिया आइपुगेको हो।

दुई डमरुसहित पोथी बाघ विगत एक महिनादेखि मसुरिया–राजीपुर क्षेत्रका सामुदायिक वनमा स्थान परिवर्तन गर्दै बच्चा हुर्काउन थालेको छ। सामुदायिक वन समन्वय समिति (सीएफसीसी) मसुरियाका अध्यक्ष ओमप्रकाश सापकोटाले विगत एक महिनादेखि पोथी बाघ भाले बाघबाट डमरु जोगाउन मसुरिया क्षेत्रको सामुदायिक वनमा आइपुगेको बताए  ।

बाघले नजिकैको जंगलमा डमरु जन्माएर हुर्काउन त्यहाँ आइपुगेको हुन सक्ने राष्ट्रिय प्रकृति संरक्षण कोषको जैविक विविधता संरक्षण केन्द्रका प्रमुख बाबुराम लामिछानेले बताए। बाघले बच्चा जन्माएपछि धेरै टाढाको यात्रा गर्न नसक्ने र आफूले बच्चा जन्माएको क्षेत्रमा असुरक्षित महसुस भएपछि नजिकैको जंगलमा डमरु हुर्काउन र सुरक्षित पार्न मसुरिया क्षेत्रमा आएको हुनसक्ने उनको भनाई छ ।

भर्खरै जन्मेका डमरुलाई भाले बाघले खाइदिने भएकाले पोथी बाघ डमरु बचाउन बसन्ता जैविक मार्गको सहायक मार्ग मसुरिया क्षेत्रमा आइपुगेको छ। डमरुसहित बाघ बस्ती नजिक आएको हुँदा यस्तो बेला जंगल नजाने तथा जानै परे चनाखो हुनुपर्ने सीएफसीसी मसुरियाका अध्यक्ष सापकोटाले बताए ।

अहिले डमरुसहित बाघ शिवशक्ति सामुदायिक वन, कालिका सामुदायिक वन, गौरीगणेश सामुदायिक वन, लालीगुरास सामुदायिक वन, हरियाली वसन्त सामुदायिक वन क्षेत्रमा डुलिरहेको सापकोटाको भनाई छ ।

पूर्व पश्चिम राजमार्गसँग जोडिएका यी सामुदायिक वनमा अहिले उपभोक्ताहरुलाई नजान पनि सूचित गरिएको जनाएको छ ।  डमरु बचाउन तथा सिकारको खोजी गर्दै बाघ त्यहाँसम्म आइपुगेको हुनसक्ने डिभिजन वन कार्यालय कैलालीका डिभिजन वन अधिकृत रामचन्द्र कँडेल बताए ।नागरिक दैनिकबाट


२२ साउन २०७८, शुक्रवार १८:५७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु