दार्चुला तुइन प्रकरण : आरोपी एसएसबीको सहजीकरणमा घटनास्थलको अध्ययन
नेपाली पक्षद्वारा विरोध प्रदर्शन
दार्चुलामा तुइनबाट खसेर जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएको घटनामा अध्ययनका लागि घटनास्थल पुगेको छानबिन टोली विबादमा तानिएको छ । घटनाको आरोपी भनिएको एसएसबीकै सहजीकरणमा छानबिन टोली घटनास्थल पुगेको भन्दै बिरोध हुन थालेको छ ।
एसएसबीसहित घटनास्थल गस्कु पुगेको र नेपालतर्फ नआएको भन्दै वारि नेपालको मालघाटमा नेपालीहरुले नाराबाजीसहित विरोध प्रदर्शन गरेका थिए । स्थानीय र विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले विरोध प्रदर्शन गरेका थिए ।
‘एसएसबीले नै घट्ना घटाउने अनि उनीहरुसँगै गएर अनुसन्धान गर्नुका औचित्य छैन्,’ नेकपा विप्लवका जिल्ला सचिव सुवास मल्लले भने, ‘आफ्नो भूमिमा पाइला नटेकेर भारतीय एसएसबीकै इसारामा प्रतिवेदन बनाउन यो नाटक गरिएको हो । यसको विरोध गर्नुपर्छ ।’

छानबिन टोलीसंग पत्रकारलाई जान नदिएको दार्चुलाका पत्रकार नरेन्द्र कार्कीले बताए । ‘एसएसबीलेनै पत्रकारलाई घटनास्थलसम्म जान रोक लगायो,’ उनले भने, ‘दोस्रा पटक जान दिएपनि क्यामरा बोक्न दिएन । बिना क्यामरा घटनास्थल पुगेका पत्रकारलाई एसएसबीले पिछा गरेर निगरानी गरिरहेको थियो ।’
छानबिन टोली नेपालतर्फ मालघाटमा पुगेको छैन । टोली त्यहाँ जाने वा नजाने भन्नेबारे छानबिन टोलीले केही भनेको छैन । टोलीकी सदस्यसमेत रहेकी सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्टले यस विषयमा छलफल भइरहेको बताइन् ।
२२ साउन २०७८, शुक्रवार ०९:१० बजे प्रकाशित












