सञ्चय कोष कार्यालय धनगढीद्वारा २४१ सञ्चयकर्तालाई घरकर्जा
सुदूरपश्चिम-कर्मचारी सञ्चय कोष शाखा कार्यालय धनगढीले आर्थिक वर्ष २०७७/०७८ मा २४१ सञ्चयकर्तालाई झण्डै ५ करोड ८० लाख घर कर्जा प्रवाह गरेको छ।
घर कर्जाअन्तर्गत सञ्चयकर्ताको घर निर्माण तथा मर्मतका लागि यो कर्जा प्रवाह गरिएको कार्यालयले जनाएको छ। यो कर्जाअन्तर्गत घर निर्माणका लागि २१५ सञ्चयकर्तालाई ३२ करोड ६६ लाख प्रवाह गरेको छ भने घर मर्मत सापटीतर्फ २६ सञ्चयकर्तालाई तीन करोड १३ लाख ८५ हजार प्रदान गरिएको हो। धनगढी शाखाका प्रमुख राजेन्द्रविक्रम केसीले सञ्चयकर्ताको आवास व्यवस्था गर्नमा सहयोग पुगोस् भन्ने उद्देश्यले कोषले घर सापटी प्रवाह गरिरहेको बताए।
कर्जाको दुरुपयोग नभएको दाबी गर्दै न्यून बेतनभोगी कर्मचारीको घर बनाउने सपनालाई कोषको सापटीले पूरा गरेको छ”, केसीले भने, “लकडाउनको समस्याका बीच पनि ७० प्रतिशतभन्दा बढी साँवा ब्याज असुल हुनुलाई सकारात्मक मान्न सकिन्छ।” कर्जा लिने ऋणीले गत आर्थिक वर्षमा रु २८ करोड ६५ लाख ६१ हजार साँवा ब्याज बुझाएको बताइएको छ।
सामाजिक सुरक्षा सुविधाबाट एक हजार ४०० लाभान्वित
कोषले प्रसूति तथा शिशु स्याहार खर्चवापत एक हजार ३३५ जना सञ्चयकर्तालाई एक करोड १२ हजार ५०० प्रवाह भएको जनाएको छ। दुर्घटना क्षतिपूर्ति वापत आठ जनालाई १६ लाख भुक्तानी गरिएको छ भने सेवा अवधिमा मृत्यु भएका ६९ जना सञ्चयकर्ताका परिवारलाई काजकिरिया अनुदानवापत २७ लाख ६० हजार प्रदान गरिएको छ।
आव २०७७/०७८ मा सेवा अवधिमा मृत्यु भएका निजामती तर्फका २४ जना सञ्चयकर्ताका हकवालालाई कल्याणकारी रकमवापत ३६ लाखसमेत प्रदान गरिएको छ। यस अवधिमा दुई हजार १७४ जना अवकास प्राप्त सञ्चयकर्तालाई ३८ करोड ९५ लाखसमेत भुक्तानी गरिएको छ।
कोषले वार्षिक बचतबाट सञ्चयकर्ताका लागि विभिन्न सामाजिक सुरक्षासम्बन्धी सुविधा प्रदान गर्नुका साथै आर्थिक आवश्यकता पूरा गर्न सापटी प्रदान गरिरहेको छ। सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत काजकिरिया अनुदान खर्च, दुर्घटना क्षतिपूर्ति योजना, सुत्केरी तथा शिशु हेरचाहलगायतका शीर्षकमा खर्च उपलब्ध गराइरहेको छ।
सञ्चयकर्ताको स्वास्थ्योपचार शीर्षकमा साधारण रोगको उपचारका लागि प्रत्येक आर्थिक वर्षमा एक लाखसम्म र घातक रोगको उपचार गर्न सेवा अवधिमा अधिकतम १० लाखसम्म सोधभर्ना प्रदान गरिरहेको छ। कोषले सञ्चयकर्तालाई सहुलियत दरमा विषेश सापटी, घर सापटी, घर मर्मत सापटी, शैक्षिक सापटीलगायतका कर्जा प्रदान गरिरहेको छ।
समाजिक सुरक्षा सुविधाका रुपमा काजकिरिया खर्च, दुर्घटना क्षतिपूर्ति कर्मचारी कल्याण बीमा, सुत्केरी तथा शिशु स्याहार सुविधा, स्वास्थ्योपचारलगायत सेवा प्रदान गरिहेको छ।
२२ साउन २०७८, शुक्रवार ०९:३९ बजे प्रकाशित












