तुइन प्रकरण : प्रत्यक्षदर्शीको सुरक्षा चुनौतीले वास्तविकता लुक्ने डर

टिप्पणी

दार्र्चुलाको ब्यास गाउँपालिका वडा नम्बर २ मालघाटमा तुइन तरेर भारतको बाटो हुँदै जिल्ला सदरमुकाम खलङ्गा आउन लाग्दा सोही ठाउँका ३३ वर्षीया जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भए । तुइन तरिरहेका बेला पारी भारतीय सुरक्षा बल (एसएसबी)ले तुइनको डोरी निकालेपछि उनी महाकाली नदी खसेको समाचार फैलियो ।

सुरुमा एसएसबीले तुइनको डोरी काटिदिएपछि उनी नदीमा खसेर बेपत्ता भएको खबर सार्वजनिक भयो । पछि प्रत्यक्षदर्शीहरु भनिएकाहरुलाई सोधीखोजी गरेर बुझ्दा एसएसबीले रुखमा बाँधिएको तुइनको डोरी खोलेपछि जयसिंह नदीमा खसेको कुरा बाहिरियो । जे भएपनि एसएसबीले तुइनको डोरी निकालेकै कारण जयसिंह नदीमा खसेको भन्ने विषय सतहमा आयो । प्रत्यक्षदर्शीको भनाईलाई आधारमा मानेर भन्ने हो भने एसएसबीकै कारण नेपाली युवाले महामाली नदीमा खसेर बेपत्ता हुनुपरेको हो ।

“शुक्रबार घटनापछि आइतबारसम्म गाउँमै रहँदा उनीहरुले सुरक्षित महशुस गरेका थिए । जति घटनाका बारेमा गाउँमै हुँदा बोलेका थिए त्यति सदरमुकाम खलङ्गा आएपछि बोल्न सकेका छैनन् । सदरमुकाम पुगेपछि उनीहरु प्रहरीकै सुरक्षामा छन् र घटनाबारे बोलेका पनि छैनन् ।”

भारतीय एसएसबीले नेपालीमाथि गरेको ज्यादती एकातिर छ भने प्रत्यक्षदर्शी भनिएकाहरूमाथि अहिले अर्को चुनौती थपिएको छ । शुक्रबार घटना भएदेखि प्रत्यक्षदर्शीका मोबाइलका घन्टीहरु तारन्तार बजिरहे । घटनाबारे बेलिबिस्तार लगाउन उनीहरुलाई भ्याइनभ्याई भयो । सुदूरपश्चिमसहित राजधानी काठमाडौंका पत्रकार, अन्य संघ–संस्थाका फोन, प्रहरी प्रशासनलगायका व्यक्तिहरुलाई उनीहरुलाई फोन गरेर सोधिरहेका छन् ।

घटनाका प्रत्यक्षदर्शी हुन् तुइन तार्ने कल्याणसिंह धामी, बिक्रम रंकोली र अनिता धामी । उनीहरुको नाम यसअघि नै सार्वजनिक भइसकेको छ । तर अहिले भने पहिलेनै नाम सार्वजनिक भएकै कारण पनि उनीहरुमाथि सुरक्षा चुनौती थपिएको छ । शुक्रबार घटनापछि आइतबारसम्म गाउँमै रहँदा उनीहरुले सुरक्षित महशुस गरेका थिए । जति घटनाका बारेमा गाउँमै हुँदा बोलेका थिए त्यति सदरमुकाम खलङ्गा आएपछि बोल्न सकेका छैनन् । सदरमुकाम पुगेपछि उनीहरु प्रहरीकै सुरक्षामा छन् र घटनाबारे बोलेका पनि छैनन् ।

घटनाका विषयमा अध्ययन अनुसन्धानका लागि सरकारले गृहमन्त्रालयका सहसचिवको नेतृत्वमा छानविन टोली गठन गरेर दार्चुला पठाउने भएपछि उनीहरु (प्रत्यक्षदर्शी)लाई सोमबारनै सदरमुकाम खलङ्गा बोलाइएको हो । सोमबार बिहान मालघाटबाट हिँडेका उनीहरु बेलुका ५ बजे सदरमुकाम खलङ्गा पुगे । सोमबारदेखि उनीहरु प्रहरीकै निगरानीमा छन् । उनीहरु खलङ्गा पुग्ने वित्तिकै प्रहरीले सुरक्षा चुनौतीलाई मध्येनजर गर्दै सुरुमै प्रहरी कार्यालयमा लिएको थियो । त्यहाँ केही समय घटनाबारे सोधपुछ पनि गर्यो । त्यसक्रममा केही घण्टासम्म प्रहरीले उनीहरुलाई कसैसंग पनि भेट्न दिएन । पत्रकारहरुलाई पनि साँझ ८ बजेपछि मात्रै भेट्न दिएको थियो । यसको अर्थ प्रहरीले नै उनीहरुमाथि सुरक्षा ‘थ्रेट’ छ भन्ने आँकल गरेरनै जोकोहीसंग सम्पर्कमा जान नदिएको बुझिएको छ ।

बेलुका अबेरसम्म प्रहरी कार्यालयमै राखेपछि विरोध हुने र गलत सन्देश जानसक्ने डरले प्रहरीले उनीहरुलाई सुरक्षासहित बाहिर होटलमा बस्ने व्यवस्था गरेको छ । तर प्रहरीले उनीहरुमाथि सुरक्षा चुनौती छ भनेर सार्वजनिक गरिसकेको अवस्था भने छैन । प्रत्यक्षदर्शीलाई होटलमा राख्दा सुरक्षा व्यवस्था गरिएकोबारे पनि प्रहरीले बोलेको छैन । स्वयम प्रत्यक्षदर्शीले पनि यो विषयमा बोल्न चाहेका छैनन् । उनीहरु आफ्नै तरिकाले होटलमा बसेका छौं भनेर भनिरहेका छन् । तर स्रोतका अनुसार प्रत्यक्षदर्शी तीन जनासगै केही सुरक्षाकर्मीलाई पनि होटलमै राखिएको छ ।

प्रहरीलाई अहिले घटनाका प्रत्यक्षदर्शी भनेकाहरुको नाम पहिलेनै सार्वजनिक नभइदिएको भए हुन्थ्यो भन्ने लागिरहेको छ । स्रोतका अनुसार प्रहरी यस विषयमा चिन्तित पनि छ । घटना भएदेखि मालघाटबासीदेखि भारतीय एसएसबी रुष्ट बनेको स्वयम घटनाका प्रत्यक्षदर्शी बताइरहेका छन् । घटनाबारे वास्तविकता राख्न सदरमुकाम खलङ्गा आउनुअघि प्रत्यक्षदर्शी कल्याणसिंहले भनेका थिए, ‘अब भारत हुँदै खलङ्गा जाने बाटो पनि बन्द भयो । अहिले त्यो बाटो भएर खलङ्गा जानेसक्ने स्थिति नै छैन । हिँडेर एक दिन लगाएर भएपनि जान्छौं । एसएसबी त्यसै तातिएका छन् ।’

“घटनाको वास्तविकता नलुक्ने गरेर सुरक्षाको प्रत्याभूति गराउनुपर्छ । सुरक्षाको प्रत्याभूति गराउँदा उनीहरुले देखेको वास्तविकता बाहिर आउँछ र त्यसै आधारमा भारतीय एसएसबीलाई कारबाही गर्नका लागि पहल गर्न सकिने वातावरण पनि बन्छ ।”

सदरमुकाम पगेपछि आफूहरुमाथि सुरक्षा निगरानी बढाएपछि भने उनीहरुलाई अहिले कहाँ आएर झमेलामा फसियो होला भन्ने लागेको छ । उनीहरुको पछिल्लो पटकको कुरा गराई र हाउभाउले यस्तै संकेत गरिरहेको छ । यद्यपि उनीहरुले आफूले देखेको भनेर मिडियामा दिएको बयान भने फेरेका छैनन् । मंगलबार बेलुका पुगेको छानविन टोलीले बुधबार मात्रै प्रत्यक्षदर्शीसंग घटनाबारे बुझ्दैछ । अब उनीहरुलाई सुरक्षा चनौती थपिएको महशुस हुन दिनु हुँदैन । उनीहरु सदरमुकाम आएदेखि सुरक्षामा घेरमा राख्नुले उनीहरुको मनोबलमा केही असर भने पक्कै परेको छ । सुरक्षा नदिएर पनि नहुने र दिएपनि उल्टै असर पर्ने हो कि भन्ने चिन्ताकाबीच प्रहरीले तीन दिनदेखि सुरक्षाको बन्दोबस्त गरेको छ ।

घटनाको वास्तविकता नलुक्ने गरेर सुरक्षाको प्रत्याभूति गराउनुपर्छ । सुरक्षाको प्रत्याभूति गराउँदा उनीहरुले देखेको वास्तविकता बाहिर आउँछ र त्यसै आधारमा भारतीय एसएसबीलाई कारबाही गर्नका लागि पहल गर्न सकिने वातावरण पनि बन्छ । यदि प्रत्यक्षदर्शीले असुरक्षा महशुस गरेर घटनाको वास्तविकता ल्याउँदैनन् भने सीमामा देखिएको समस्या झन बल्झेर आउनेछ । नेपालीमाथि ज्यादती गर्दै आएको एसएसबीको मनोबल झन बढेर आउनेछ । र, नेपाली जनतामाथिको थिचोमिचोले निरन्तरता पाइरहनेछ ।

वास्विकता आएन भने छानविन टोलीले सोही अनुसार प्रतिवेदन तयार पारेर सरकारलाई बुझाउँछ । प्रतिबेदनमा कुनै कैफियत नदेखिए सरकारले पनि कुनै कारबाही नगर्ने निश्चित छ । तसर्थ राष्ट्रियतासंग जोडिएको यो विषयमा प्रत्यक्षदर्शी, प्रहरी प्रशासन, छानविन टोली, जनप्रतिनिधिलगायतले गम्भीर बन्नुपर्छ । भारतीय एसएसबीले गर्ने ज्यादतीविरुद्धको संघर्ष सोचेर अगाडि बढ्नुपर्छ ।


२० साउन २०७८, बुधवार १२:१९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु