एसएसबीबिरुद्ध भारतीय थानामा जाहेरी, कारबाही गर्न माग (जाहेरीसहित)

दार्चुलाको व्यास गाउँपालिका–२ मालघाटमा भारतीय एसएसबीले तुइन काटिदिएपछि व्यासमा जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएको भन्दै पीडित पक्षले भारतीय पुलिस थानामा जाहेरी (एफआईआर) दर्ता गराएका छन् ।

ब्याँसबाट शुक्रबार बिहान सदरमुकाम खलंगा आउन भारतको बाटो हुँदै तुइन तर्ने क्रममा ३३ वर्षीय धार्मी खसेर महाकाली नदीमा बेपत्ता भएका छन् । तुइन तर्नेक्रममा दुई जना एसएसबीले तुइन काट्दा धामी महाकालीमा बेपत्ता भएको भन्दै उनीहरुलाई कारबाहीको माग गर्दै धामीका आफन्तले भारतको पांगलास्थित पुलिस थानामा जाहेरी दर्ता गराएका हुन् ।

तुइन तरिरहेका बेलामा तुईन काटेर नदीमा खसाल्ने दुबै जना एसएसबी जवानहरुलाई कारबाहीको माग गर्दै आफूहरुले निबेदन दर्ता गराएको उनीहरुको भनाई छ । घट्ना घटिसकेपछि एसएसबीले डर, धम्की देखाई घट्नाबारे नबोल्न चेतावनीसमेत दिएको जाहेरीमा उल्लेख छ । घट्ना भएपछि एसएसबीका जवानहरु घटना स्थलबाट भागेका थिए ।

एसएसबी जवानहरुले गरेको गतिविधिहरुको बारेमा जानकारी गराउँदै शुक्रबार नै बेपत्ता धामीका आफन्त बहादुरसिंह धामी, जोगासिंह धामाले पांगला पुलिस थानामा जाहेरी दिएका हुन् ।

अनुमति नभएपनि महाकाली नदीमाथि दुबै देशका नागरिकहरु आवत–जावतका लागि तुइन लगाउँदै आएका छन् । वारिपारि नातागोता भएकाले आवतजावत गर्न दुबै देशका नागरिकले लुकेर भएपनि तुइन लगाउँदै आएका थिए ।

विगतदेखि नै महाकाली नदीमाथि तुइन लगाएर आवत–जावत् गर्दै आएकोमा पछिल्लो समय एसएसबीले तुइन काटिदिने गरेको छ । सोही क्रममा मालमा तुइन लगाएको खबर पाएपछि दुई जना एसएसबी जवान त्यहाँ पुगेको स्थानीयको भनाई छ । जयसिंह धामी नदी पार गर्नै लागेका बेला एसएसबीले तुइन काटिदिएको
प्रत्यक्षदर्शीहरुले बताइरहेका छन् ।

तुइन खसेको विषयमा जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतीय पिथौरागढ जिल्लाधिकारीलाई पनि पत्र लेखेको थियो । त्यसको जवाफ फर्काउँदै भारतीय पक्षले तुइन काट्ने कार्यमा भारतीय एसएसबीको संलग्नता नरहेको दाबी गरेको छ ।

ब्याँसको घट्नाको अनुसन्धानका लागि गृह मन्त्रालयले गृह सचिवको नेतृत्वमा छानबीन समिति गठन गरेको छ । गृह मन्त्रालयका प्रवक्ता, नेपाल प्रहरी सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी सदस्य रहेका छन् ।

घटनाको अनुसन्धानका लागि सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको टोली घटनास्थलमा खटिएको छ ।

 


१७ साउन २०७८, आइतवार १०:२८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु