तुइन तर्नेक्रममा महाकाली नदीमा खसेर एकजना बेपत्ता

दार्चुलाको ब्याँस गाउँपालिका २ मालमा भारतको बाटो हुँदै सदुरमुकाम खलंगा आउनेक्रममा तुइनबाट खसेर एकजना महाकाली नदीमा बेपत्ता भएका छन् । तुइनबाट खसेर सोही ठाउँमा ३० वर्षय जयसिंह धामी बेपत्ता भएका हुन् ।

शुक्रबार विहान साढे ८ बजे गाउँबाट भारत हुँदै सदरमुकाम आउने क्रममा नदीमा तुईन तर्दै गर्दा उनी खसेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दाचुलाले जनाएको छ ।

महाकाली तर्ने क्रममा एसएसबीले देखेपछि तुइन काटिदिएका कारण उनी बेपत्ता भएको आरोप स्थानीयले लगाएका छन् । तर जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक नरेन्द्रबहादुर चन्दले भने घटनास्थलमा पुगिसकेपछि मात्रै घटनाबारे यथार्त विवरण आउने बताए । उक्त तुइन अबैध हो ।

उनका अनुुसार अन्य ५÷६ जना स्थानीयहरु सामान लिन भारतको बाटो हुँदै दार्चुला आइरहेका बेला घटना भएको हो । ‘पाँच जनाले तुइन पार गरिसकेका थिए,’ उनले भने, ‘अन्तिममा जयसिंह तर्ने बेला खसेर बेपत्ता भएको भन्ने आएको छ । खोजीका लागि प्रहरी टोली खटाइसकेका छौं ।’

उनको खोजीका लागि इलका प्रहरी कार्यालय दुम्लिङ र सुनसेराबाट प्रहरी टोली खटाइएको बताए । सशस्त्र प्रहरी पनि खोजीका लागि त्यसतर्फ गइसकेको उनले जानकारी दिए ।

नेपालतर्फ सडक नहुँदा ब्यास क्षेत्रका स्थानीयहरुले दार्चुला सदरमुकाम खलंगा आउन भारतको बाटो भएर आउनुपर्छ । त्यसका लागि अबैध तुइनको प्रयोग गर्नुपर्छ । एसएसबीले तुइनबाट नदी पार गर्न दिँदैन ।

सरकारले तुईनमुक्त कार्यक्रम अन्र्तगत तुईन भएको ठाउँमा पुल बनाउन योजना सञ्चालन गरेको भएपनि पुल निर्माण अलपत्र छ । बेलाबेला एसएसबीले तुइन काटिदिने गरेको भएपनि स्थानीयले लुकाई छिपीले तुइन लगाउने गरेका छन् ।


१५ साउन २०७८, शुक्रवार १३:१२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु