‘…अनि आफै घर भत्काएर भाग्यौं’

कैलालीको भजनी नगरपालिकाका वडा नम्बर ५ का आशाराम चौधरी र उनका भाई बुधराम चौधरीको घर स्थानीय कान्द्रा नदी छेउमै थियो । केही वर्ष यता नदी बस्तीतिर सर्दै थियो । घर नदीमा जाने हो कि भन्ने चिन्ता लागिरहेकै थियो उनीहरुलाई । नभन्दै यस वर्षको वर्षामा कान्द्रा नदी दाईभाईकै घरमा आयो । तर नदी पुग्नु भन्दा अगाडि उनीहरुले घर भत्काए ।

घरमा भएको केही खाद्यान्न, घरको काठ, छानोमा लगाएको टिनलगायतका सामग्री जोगाए । तर आफ्नो घर भएको जमिन भने जोगाउन सकेनन् । आशारामको भन्दा अगाडि नदीतर्फ भाई बुधरामको घर थियो । नदी घर नजिकै आइरहको थियो । तर घरमा भाई थिएन । उनी कामको सिलसिलामा सुर्खेतमा थिए । नदी घरतर्फ तेर्सिएपछि उनले भाईबुहारी गीतासंग सल्लाह गरेर घर भत्काए ।

घर भत्काएकै दिन नदीले भाईको घर भएको जमिन पनि बगायो । उनको घर भएको जमिन अहिले नदीमा पर्छ । घरको अगाडिको नल्का हालेको ठाउँ अहिले नदीको बिचमै पर्छ । ‘हाम्रो नल्का उ त्यहीँ थियो,’ औंलाले देखाउँदै बुधरामकी श्रीमती गीता भन्छिन्, ‘धन्न आफू बाँच्यौं, तर जमिन गयो ।’ अहिले गीताको पाँच जनाको परिवार उनकै माइतीको शरणमा छ । भाईको घर भत्काएपनि आफ्नो घर त जोगिएला कि भन्ने आशा थियो आशारामलाई तर भर थिएन ।

भाईको घर भत्काएको पछिल्लो दिननै उनले आफ्नो घर पनि भत्काउनुपर्यो । हेर्दाहेर्दै उनको घर भएको जमिन पनि नदीले लगेर छाड्यो । भाईको घर लागेको पुरै जमिन नदीमा छ भने आशारामको चार/पाँच धुर जमिन मात्रै बचेको छ । बाँकी जमिन पनि नदीले विस्तारै काटिरहेको छ । उनले ५ गते भाईको घर भत्काएका थिए भने आफ्नो घर ६ गते भत्काए । दुई भाईको गरेर दुई कट्टा जमिन नदीमै गयो ।

घडेरीनै नदीमा गएपछि अहिले उनीहरु विचल्लीमा परेका छन् । बाढीले गर्दा घर भत्काउनुपरेपछि अहिले उनीहरु आफन्त र छिमेकीको शरणमा छन् । आशारामका श्रीमती, छोराबुहारी, नातीलगायतको ६ जनाको परिवारनै मामा घरमा बस्न बाध्य छ । घरमा बचेको खाद्यान्न वल्लो पल्लो घरमा राखेका छन् भने घरका काठ, टीनलगायतका सामग्री सडकमै फालेका छन् । उनको भाई बुधराम अझै घर फर्केका छैनन् भने गीता छोराछोरीसहित माइतीकै शरणमा छिन् । कान्द्रा नदीको बाढीले गर्दा आशारामको परिवारनै विचल्लीमा परेको छ ।

फेरि सुकुम्बासी
आशाराम र बुधरामका बाजेले २०३९ सालमै सुकुम्बासी आयोगबाट आठ कट्टा ऐलानी र दुई कट्टा नम्बरी जमिन पाएका थिए । पछि उनका बुवाका दुई भाईलाई भाग हाल्दा एक/एक कट्टा नम्बरी जमिन र चार/चार कट्टा ऐलानी जमिन भाग पर्यो । बुवालाई भाग परेको त्यही जग्गा दुई भाईलाई भाग हाल्दा आधा/आधा कट्टा नम्बरी र दुई/दुई कट्टा ऐलानी जमिन भाग परेको थियो । दुबै भाईले नम्बरी जग्गामा घर लगाए । त्यहाँ बस्ती र केही उच्चो जग्गा भएकाले त्यहाँ बस्ती बसेको थियो । तर यस वर्षको नदीले दुबै भाईको जमिन बगाइदिएपछि उनीहरु घरबारविहीन बन्न पुगेका छन् ।

उब्जनीका लागि दिएको जग्गा पनि खल्लामा पर्छ । त्यहाँ जहिल्यै डुबान हुन्छ । सुकुम्बासी आयोगले अधिकांशलाई खल्ला भएकै ठाउँमा उब्जनी गर्ने जग्गा वितरण गरेको थियो त्यतिबेला । बचेको खेत गरि खाने दुई/दुई कट्टा जमिनमा पनि घर लगाएर बस्ने अवस्था छैन । उनीहरु अब सडकमा आएका छन् । ‘अर्काको घरमा कतिञ्जेल बस्न सकिन्छ र,’ मलिन अनुहार बनाउँदै उनी दुखेसो गर्छन्, ‘सरकारले न नदी कटान रोक्न पहिले हेर्यो, न अब घरबासनै नरहेपछि हेर्छ ।’

दुई परिवार विस्तापित भइसकेको र त्यहाँ रहेका अन्य परिवार पनि विस्तापित हुने अवस्था आइपुगेका छन् । ‘हामी घरबारविहीन हुँदासम्म नगरपालिकाले कम्तीमा पाल, झुलसम्म त दिनसक्नु पथ्र्यो’ आशाराम भन्छन् । नदीले बस्तीनै उजाडिने अवस्था आइसक्दा पनि यस वर्ष कोही पनि गाउँको अवस्था बुझ्न नआएको उनीलगायत स्थानीयको गुनासो छ । ‘मेयरले आफ्नो ठाउँ हेर्छन्, वडाध्यक्षले आफ्नो,’ आशाराकै छिमेकी लक्ष्मण चौधरी भने, ‘हामीलाई कसले हेरोस्, हेरिदिनुहोस् भन्दा पनि हेर्दैनन् ।’

लक्ष्मणको घर पनि नदी किनारमै छ । फेरि केही दिन पानी पर्यो भने उनीलगायत त्यहाँ रहेका अन्यको घर पनि रहने अवस्था छैन । त्यहाँ नदी छेउमा रहेका आठ घर नदी कटानको उच्च जोखिममा छ्न् ।

रातभर जाग्राम
यस वर्ष साउन महिना सुरु भएसंगै सुदूरपश्चिम प्रदेशमा एक हप्तासम्म लगातार वर्षा भयो । जसले गर्दा कैलालीका पनि विभिन्न ठाउँ डुबानमा परे । कैलाली जिल्लामै सबैभन्दा बढी डुबान र कटानको जोखिममा पर्ने क्षेत्र हो भजनी । गत वर्ष धनजनको क्षति बेहोरेको ठाउँ पनि हो भजनी ।

कान्द्रा नदीले यहाँ यस वर्ष पनि कटान गर्न बाँकी राखेन । यद्यपि गत वर्ष जस्तो बाढी र डुबान भने अझै भएको छैन भजनीमा । तरपनि वर्सेनि धार परिवर्तन गर्दै आएको कान्द्रा नदीले बस्ती कटानलाई भने तीब्र पार्दै आएको छ । यसकै चपेटामा परेका हुन् आशारामका दुई भाईसंगै त्यहाँका बासिन्दा । आशारामका दुई भाईले घरनै भत्काउनुपर्ने अवस्था आयो भने अन्यलाई अहिले हो कि पछि जस्तै भएको छ ।

नदी किनारमा अझै २० घरजति कटानको जोखिममा छन् । त्यसमध्ये पनि अहिले तीब्र कटान पारिरहेको स्थानमा भने ८ घर नदीमै जाने अवस्थामा पुगिसकेका छन् । उनीहरु लगायत त्यहाँका बासिन्दा बर्खा लाग्यो भने रातभरि सुत्दैनन् । उनीहरुका आँखा ओभानै रहन्छन् हिजोआज । ‘राति पानी परेपछि रातभर सुत्दैनौं,’ स्थानीय लक्ष्मी चौधरीले भनिन्, ‘बच्चाहरुलाई सुताएर रातभर जागराम बस्छौं । नदीले भएको घरबास पनि बगेर भयो भने २० जनाको परिवार कहाँ गएर बस्ने भन्ने चिन्ता छ ।’

उनीहरुको पनि दुई कट्टा घरबासबाहेक अरु जग्गा छैन । अरुको खेत अदिया बनाएर जीवन गुजारा गरिरहेका छन् उनीहरु । स्थानीय सत्तु चौधरीको घर पनि नदी छेउमै छ । ‘नदी घर आँगनमै आइसक्यो,’ उनले भनिन्, ‘घर जोगिएला भन्ने आशा छैन । न सरकारले हेर्छ ।’ कान्द्रा नदीले बस्तीभन्दा माथिबाटै पश्चिमतिर कटान तीब्र पारिसकेको छ ।

बलौटे माटो भएको सो स्थानमा नदीले सजिलै बस्ती कटान गरिरहेको छ । सडक पुरै नदीमा गइसकेको छ । पहिले हालेको तटबन्ध पनि अहिले नदीको बिचमा परेको छ । ढुंगासहितको तारजाली नदीमा देख्न सकिन्छ ।

 


१४ साउन २०७८, बिहीवार १०:०१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु