कांग्रेसले आज देशभर प्रदर्शन गर्दै, शीर्ष नेताहरूले सम्बोधन गर्ने

प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसले आज देशैभर प्रदर्शन गर्ने भएको छ।

विभिन्न जिल्लामा प्रदर्शनपछि हुने विरोध सभालाई कांग्रेसका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम छ। पूर्व निर्धारित कार्यक्रमअनुसार सभापति शेरबहादुर देउवाले आज बुटवलमा हुने सभालाई सम्बोधन गर्दैछन्।

त्यसैगरी वरिष्ठ नेता रामचन्द्र पौडेल र सहमहामन्त्री डा.प्रकाशसरण महतले धादिङ, उपसभापति विमलेन्द्र निधिले सप्तरी, महामन्त्री शशांक कोइरालाले दाङको सभालाई सम्बोधन गर्ने कांग्रेसले जनाएको छ।

सभापति शेरबहादुर देउवाले आइतबार विज्ञप्ति प्रकाशित गरी प्रदर्शनमा सहभागिताका लागि पार्टीका समर्थक तथा आम जनतासित अपिल गरेका छन्।

संसद विघटन गर्ने ओलीको कदमको विरोध गरे पनि कांग्रेसले स्पष्ट रुपमा संसद पुनस्र्थापनाको माग गरेको छैन। कांग्रेस सभापति शेरबहादुर देउवाले अदालतमा विचाराधिन मुद्दा भएकाले संसद् पुनस्र्थापनाको माग पार्टीले गर्न नहुने तर्क गर्दै आएका छन्। तर, वरिष्ठ नेता रामचन्द्र पौडेल खेमा भने संसद पुनस्र्थापनाको पक्षमा रहेको बताइन्छ।


३ फागुन २०७७, सोमवार ०९:२९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु