विश्वभर भ्यालेन्टाइन अर्थात् प्रणय दिवस मनाइँदै
आज विश्वभर भ्यालेन्टाइन अर्थात् प्रणय दिवस मनाइँदै छ । हरेक फेब्रुअरी १४ तारिखमा यो दिवस मनाउने गरिन्छ ।
यो दिन प्रेमी-प्रेमिकाले एक अर्कालाई उपहार दिएर माया साट्ने र प्रेम प्रस्ताव राख्ने गर्छन् । आजकै दिन आफूलाई मन परेको व्यक्तिलाई उपहार दिने चलन पनि छ ।
विशेषगरी युवापुस्ताले १४ फेब्रुअरीको दिन ‘भ्यालेन्टाइन डे’ लाई प्रेमसम्बन्ध प्रगाढ बनाउने अवसरका रूपमा लिन्छन् । पहिले-पहिले युवापुस्ता र सहर बजारमा मात्रै प्रणय दिवस मनाउने गरिए पनि अहिले गाउँघरमा पनि यसको चर्चा हुन थालेको छ ।
‘भ्यालेन्टाइन डे’ को सुरुवात सन् २६९ मा रोमनबाट सुरु भएको मानिन्छ । नारीसँगको सम्बन्धका कारण सेना कमजोर हुने भन्दै सम्राटले प्रेम र विवाहमा रोक लगाएका थिए ।
तर रोममा भ्यालेन्टाइन नाम गरेका पादरीले सम्राटको त्यो अभियानलाई सार्वजनिक रूपमै उल्लङ्घन गर्ने घोषणा गरेका थिए ।
आफ्नै अभियानविरुद्ध गतिविधि सह्य नभएपछि सम्राटले पादरीलाई पक्राउ गरी सन् २६९ को फेब्रुअरी १४ तारिखमा मृत्युदण्डको सजाय दिइएको थियो । प्रेमका लागि भ्यालेन्टाइनको यही बलिदानको सम्मानमा ‘भ्यालेन्टाइन डे’ का रूपमा मनाउन थालिएको हो ।
२ फागुन २०७७, आइतवार ०९:१० बजे प्रकाशित












