भागरथीको न्यायको लागि चरणबद्ध आन्दोलनको घोषणा
बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ चडेपानीकी १७ वर्षीयाा किशोरी भागरथी भट्टको न्यायका लागि महिला अधिकारकर्मीले चरणबद्ध आन्दोलनका कार्यक्रमण घोषणा गरेका छन् ।
किशोरीको बलात्कार र हत्या घटना अनुसन्धान तीव्र बनाउन माग महिलाहरू आन्दोलित भएका हन् । धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै महिला नेतृ तथा अधिकारकर्मीहरुले चरणबद्ध सङ्घर्षका कार्यक्रम घोषणा गरेका छन् ।
पत्रकार सम्मेलनमा बोल्दै नेपाली काँग्रेसकी केन्द्रीय सदस्य समेत रहेकी डा. डिला सङ्ग्रौला पन्तले घटनाको अनुसन्धान तीव्र बनाउन र दोषी अविलम्ब पक्राउ गर्न माग गरिन्।
भागरथीको बलात्कार र हत्यामा संलग्न दोषी घटना भएको १० दिन बित्दा पनि पक्राउ नपरेको भन्दै उनले सरकारलाई दवाव सृजना गर्नुपर्ने अवस्था आएको बताइन् ।
महिलाहरू गाउँघरमै असुरक्षित भइरहेको भन्दै उनले प्रधानमन्त्री र गृह मन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने समेत बताइन् । चरणबद्ध आन्दोलन धनगढीबाट सुरु भई प्रदेशका ९ ओटै जिल्लामा प्रदर्शन गरिने उनले बताइन् । उनले सरकारले पीडित परिवारलाई न्याय दिलाउन नसके देशभर विरोध प्रदर्शन गर्ने चेतावनी दिइन् ।
कार्यक्रम अन्तर्गत १ गते धनगढी, ३ गते दार्चुला, ४ गते बैतडी, ६ गते बझाङ, ७ गते डडेल्धुरा, ८ गते डोटी, ९ गते अछाम, १० गते बाजुरा र १२ गते कञ्चनपुरमा विरोध गर्ने कार्यक्रम रहेको उनले बताइन् ।
१ फागुन २०७७, शनिवार १६:४२ बजे प्रकाशित












