आधुनिक ह्याचरी उद्योग संचालनमा
महेन्द्रनगरमा आधुनिक ह्याचरी उद्योग संचालनमा आएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १५ गोबरैयामा आधुनिक ह्याचरी उद्योग संचालनमा आएको हो । यसअघि कञ्चनपुरका ह्याचरी उद्योग नहुँदा यहाँका कुखुरा पालक किसान व्यवसायीले चितवन लगायतका अन्य जिल्लाबाट खरिद गर्नुपर्ने बाध्यता थिए, स्थानीय स्तरमै ह्याचरी उद्योगबाट कुखुराका चल्ला उत्पादन भएपछि कुखुरा पालक किसानलाई सुविधा भएको छ ।
दुई वर्षअघि स्थापना भएको फर्मले अब कुखुराका चल्ला उत्पादनका लागि मेसिन ल्याएको शुक्लाफाँटा एग्रो एलिभिएटिभ नेपालका प्रबन्ध निर्देशन कृष्ण विष्टले बताए । उनका अनुसार १२ हजार क्षमता भएको मेसिनमा ७ हजार ५ सय चल्ला उत्पादन गरिनेछ ।
प्रबन्ध निर्देशक विष्टले चल्ला उत्पादन गर्ने इन्कुभेटर मेसिन आइसकेकाले अब मेसिन मार्फत चल्ला उत्पादन गरिने बताए । ‘एक्काइस दिनमा चल्ला उत्पादन हुन्छन, ‘प्रबन्ध निर्देशक विष्टले भने, ‘स्थानीय बजारमै खपत गछौँ ।’ उपभोक्ताको माग अनुरुप स्थानीय प्रजातिका नेपाली रैथानी कुखुरा पालिएका छन् । दैनिक ६ सयदेखि ८ सय अण्डा उत्पादन हुने बताउँदै उनले माग अनुसार आपूर्ति नगर्न नसकिएको बताए । ‘बजारमा यो कुखुराको धेरै माग छ, ‘उनले भने, ‘हामीले माग अनुरुप दिनै सकेका छैनौँ ।’
सरकारी दररेट अनुरुपै अण्डा, चल्ला र कुखुरा बिक्रि वितरण भइरहेको उनले बताउदै बजारमा उपभोक्ता ठगिरहेका बताए । लोकल कुखुराका नाममा अन्य कुखुरा बिक्रि हुदा, वास्तविक किसानले मुल्य नपाउने र उपभोक्ताले पनि वास्तविक खोजेको मासु नपाउने समस्याको अब अन्त्य हुने बताए।
१ फागुन २०७७, शनिवार १३:५३ बजे प्रकाशित












