प्रचण्ड–नेपाल समूहद्वारा भागरथी हत्याका दोषीलाई कारवाही गर्न माग (विज्ञप्तिसहित)
नेकपा (प्रचण्ड–नेपाल समूह)ले बैतडीकी भागरथी भट्टका हत्यारालाई कारबाही गर्न माग गरेको छ ।
अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाललेविज्ञप्ति जारी गर्दै भागरथीका हत्यारालाई कारबाही गर्न माग गरेका हुन् । विज्ञप्तिमार्फत उक्त घटनाको अनुसन्धान निर्मला पन्त प्रकरणजस्तै नहोस् भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
‘डेढ वर्षअघि निर्मला पन्तको हत्या र त्यसमा न्याय नपाएको अवस्थाले सिर्जना गरेको आम जनताको आक्रोश सेलाउन नपाउँदै बैतडीमा घटेको समान प्रकृतिको घटनाले आम नागरिकलाई शान्ति सुरक्षा दिन राज्यसंयन्त्र असफल भएको तथ्यलाई नै प्रमाणित गरेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘विगतमा निर्मला पन्तको अनुसन्धान जस्तै यो घटनामा गैरजिम्मेवार नबन्न सरकारसँग आग्रह गर्दै सत्यतथ्य सार्वजनिक गरि दोषीमाथि कडा कार्वाही गर्न माग गर्दछौं।’
गत बुधवार विद्यालय गएकी भागरथी साँझ घर नफर्केपछि खोजी गर्ने क्रममा बिहीबार बेलुकी ५ बजेतिर स्थानीय लवलेक सामुदायिक वनमा मृत अवस्थामा फेला परेकी थिइन्।

२४ माघ २०७७, शनिवार १८:५८ बजे प्रकाशित













