आज राष्ट्रिय सभाको बैठक बस्दै
आज राष्ट्रियसभाको बैठक बस्दैछ ।
प्रधानमन्त्रीको केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति बिद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि राष्ट्रियसभाको बैठक बस्न लागेको हो ।
बैठकको सुरुमै राष्ट्रपतिले अधिवेशन आह्वान गरेको पत्र पढेर सुनाइने र त्यसपछि अधिवेशनको पहिलो बैठक भएकाले राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलहरुकोतर्फबाट दलका नेताहरुको अधिवेशन उद्घाटन मन्तव्य राख्ने कार्यसूची रहेको छ ।
सरकारले संविधानमा नभएको अधिकार प्रयोग गरेर प्रतिनिधिसभा विघटन गरेको भन्दै नेकपा पुष्पकमल दाहाल– माधवकुमार नेपाल पक्षक साथै कांग्रेस र जनता समाजवादी पार्टीले उक्त कदमको विरोध प्रदर्शन गरेका छन् ।
५९ सदस्यीय राष्ट्रिय सभामा दाहाल–नेपाल पक्षले आफूहरुसँग सबैभन्दा बढी अर्थात् करिब दुई दर्जन सांसद रहको दाबी गरेको छ । बैठक अपरान्ह ४ बजे संघीय संसद भवन नयाँ बानेश्वर बस्नेछ ।
१७ पुस २०७७, शुक्रवार १०:५७ बजे प्रकाशित












