जीप दुर्घटना हुँदा ५ जनाको निधन
गुल्मीमा जीप दुर्घटना हुँदा ५ जनाको निधन भएको छ । जीपमा सवार २ जना गम्भीर घाइते भएका छन् ।
जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर वडा नम्बर ४ को हुल भन्ने स्थानमा लु १ ज ११६६ नम्बरको जीप दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै निधन भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) प्रविणलाल श्रेष्ठले जानकारी दिए ।
दुर्घटनामा इस्मा गाउँपालिका वडा नम्बर ४ हुलका ६५ वर्षीय डम्बर हितान, ३३ वर्षीय शिव दर्लामी, ३० वर्षीय बसन्त दर्लामी, ३३ वर्षीय धन बहादुर अछामी र मालिका गाउँपालिका वडा नम्बर५ का ८० वर्षीया सुन्दरी थापाको निधन भएको इस्मा प्रहरी चौकीका इन्चार्ज मोहनलाल अधिकारीले जानकारी गराए ।
दुर्घटनामा इस्मा गाउँपालिका वडा नम्बर ४ हुलकै १९ वर्षीय फर्सुराम थापा, २८ वर्षीय सरस्वती दर्लामी र सहचालक २५ वर्षीय कमल हितान घाइते भएका छन् । चालक बुद्ध बस्नेत सकुशल रहेका प्रहरीले जनाएको छ । घाइतेहरुलाई उपचारको लागि गुल्मी अस्पताल पठाइएको छ ।
शुक्रबार बिहान इस्माबाट तम्घास आउँदै गरेको जीप दुर्घटनामा परेको हो । जीपमा चालकसहित ९ जना थिए । दुर्घटनामा परेको जीप सडकबाट करिब ४ सय मिटर तल खसेको छ । चालक र सहचालकलाई इस्मा प्रहरीले नियन्त्रणमा लिएको उनले जानकारी गराए ।
दुर्घटना स्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय जनप्रतिनिधिहरु उद्धारमा जुटेको इस्मा गाउँपालिका उपाध्यक्ष बिमला खत्रीले बताइन् ।
१२ मंसिर २०७७, शुक्रवार १३:२४ बजे प्रकाशित































