भारतीय सेना प्रमुख नरवणे आज नेपाल आउँदै
भारतीय सेना प्रमुख जनरल मनोज मुकुन्द नरवणे आज नेपाल आउँदै छन् । नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी ग्रहण गर्न उनी चार सदस्यीय टोलीका साथ काठमाडौं आउन लागेका हुन् । उनी अपराह्न भारतीय सेनाको विशेष विमानमार्फत् काठमाडौं आउने छन् ।
बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गर्ने कार्यक्रम छ । साथै, उनले प्रधानसेनापति पूर्णचन्द्र थापासँग पनि छलफल गर्नेछन् । फर्किने दिन शुक्रबार प्रधानमन्त्री एवं रक्षामन्त्री केपी शर्मा ओलीसँग उनले भेटवार्ता गर्ने कार्यक्रम तय भएको नेपाली सेनाले जनाएको छ ।
उनको भ्रमणलाई लक्षित गरी काठमाडौंमा सुरक्षा सतर्कता बढाइएको छ । नेपाल–भारत सीमा विवाद चर्किएको बेला लिम्पियाधुरासहितको नेपालको नक्सालाई लिएर नरवणेले विवादास्पद टिप्पणी गरेकाले उनको भ्रमणलाई चासोका साथ हेरिएको छ ।
नेपालका सैन्य मामिलाका जानकारहरुले पनि नाकाबन्दीमा जस्तै यो पटकको सीमा विवादमा पनि सैन्य कुटनीतिले संवादहीनता अन्त्यका लागि महत्वपूर्ण भूमिका खेल्न सक्ने विश्लेषण गरेका छन् ।
१९ कात्तिक २०७७, बुधवार ०७:५७ बजे प्रकाशित













