र्‍यापर भिटेनको मुद्दामा अदालतले दियो यस्तो आदेश, के गर्छ अब प्रहरी ?

र्‍यापर भिटेनलाई पक्राउ तथा धरपकड नगर्न प्रहरी प्रधान कार्यालय र साइबर ब्युरोका नाममा अन्तरिम आदेश जारी गरिएको छ ।

उच्च अदालत पाटनले प्रहरी प्रधान कार्यालय र ब्युरोलाई भिटेनमाथि अनुसन्धान गर्नुपर्ने कारण देखाउनसमेत आदेश दिएको हो। गीत गाएर विवादमा मुछिएपछि भिटेन भनिने समिर घिसिङ प्रहरीले पक्राउ गर्नुअघि नै उच्च अदालत पाटनमा हाजिर भएका थिए। उच्च अदालतका प्रवक्ता शम्भुप्रसाद रेग्मीले भिटेन आफै अदालतमा हाजिर भएको पुष्टि गरे ।

भिटेनले प्रहरी प्रधान कार्यालय र साइबर ब्यूरोलाई विपक्षी बनाउँदै उच्च अदालत पाटनमा १६ कात्तिकमा निषेधाज्ञासम्बन्धि रिट निवेदन दर्ता गराएका थिए ।

केही दिनअघि भिटेनले सार्वजनिक गरेको नयाँ गीत ‘पारा’माथि छानबिन गर्न कात्तिक १३ गते प्रहरी प्रधान कार्यालयले साइबर ब्यूरोलाई निर्देशन दिएको थियो । हेडक्वार्टरको निर्देशनसँगै ब्यूराले भिटेनको खोजी सुरु गरेको थियो ।

र्‍यापर भिटेनको नयाँ गीत ‘पारा’मा अपाच्य शब्द भएको प्रहरीको दावी छ । एक वर्षअघि ‘यस्तै त हो नि ब्रो’ र्‍याप गीत गाएर विवादमा मुछिएपछि भिटेनलाई महानगरीय अपराध महाशाखाले २०७६ कात्तिक ७ गते जावालाखेलबाट पक्राउ गरेको थियो । त्यतिबेला आइन्दा विवादित काम नगर्ने सर्तमा उनी रिहा भएका थिए ।

गीतमा प्रयोग भएका शब्दको विषयलाई लिएर विवादमा तानिएपछि भिटेनले सामाजिक सञ्जालमार्फत एक विज्ञप्ति सार्वजनिक गर्दै माफी समेत मागेका थिए । ‘गीतमा आपत्तिजनक शब्द हटाएर संशोधित गीत छिट्टै आधिकारीक च्यानलबाट सार्वजनिक गर्न छु,’ भिटेनले विज्ञप्तिमा भनेका छन्, ‘सम्बन्धित निकाय र महानुभावलाई उक्त म्युजिक भिडियोमा प्रयोग भएका केही शब्दबाट पर्न गएको असुविधा र चोटप्रति क्षमायाचना गर्दछौँ ।’

गीतमा प्रहरीलाई समेत गाली गरिएको भन्दै प्रहरीले उनलाई खोज्न थालेपछि गीतको भिडियो युट्युबबाट समेत केही समयका लागि हटाएको थियो ।


१८ कात्तिक २०७७, मंगलवार १७:०८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु