चौकिडाँडा-फल्टुडे सडकमा ठेकेदारको चरम लापरबाही, स्थानीयद्वारा सडक बन्द

कैलाली।  कैलालीमा निर्माणाधीन चौकिडाँडा फल्टुडे सडक निर्माणमा भएको चरम ढिलासुस्ती पछि पटक पटक आन्दोलन विरोधका कार्यक्रम हुँदै आएका छन् । यसैबिच स्थानीय र जनप्रतिनिधिको आन्दोलन बिच भदौ २३ गते ठेकेदार सँग काम गर्ने समय सीमा तोकेर तमसुक नै बनाइएको थियो । प्रदेश सरकार अन्तरगतको पूर्वाधार विकास कार्यालय कैलालीमा भएको तमसुकमा पूर्वाधार विकास कार्यालय पहिलो पक्ष र ठेकेदार कम्पनी दोस्रो पक्ष रहने गरी गोदावरी नगरपालिकाका नगरप्रमुख, वडाध्यक्षको रोहबरमा समय सीमा तोकेर तमसुक गरिएको थियो । पटक पटक निर्माण अवधिको धज्जी उडाउँदै आएका ठेकेदारले यस पटक तमसुकको पनि धज्जी उडाएका छन ।

तमसुक अनुसार चौकिडाँडा फल्टुडे सडक अन्तरगतको अढाई किलोमिटर सडक निर्माणको ठेक्का पाएको सनलाईट थेगिम एडभेन्चर जेभिले फागुन ३० सम्म सडक कालोपत्रे गर्ने सम्झौता गरेको थियो । आर्थिक वर्ष २०७६/०७७ देखि निर्माणको काम सुरु गरिरहेको उक्त कम्पनीले असोज ३० सम्म सब बेसको काम गर्ने, कार्तिक ३० सम्म बेसको काम गर्ने, मंसिर १५ सम्म पहिलो लेयरको कालोपत्रे गर्ने, फागुन ३० सम्म दोस्रो लेयरको कालोपत्रे गरेर चैत ३० सम्म अन्य काम सकेर हस्तान्तरण गर्ने सम्झौता भएको थियो । तर, हाल उक्त कम्पनीले पहिलो लेयरको कालोपत्रेको आधा काम पनि गरेको छैन भने बाँकी सडक अझै धुलाम्मे अवस्थामै रहेको छ ।

आर्थिक वर्ष २०७९/०८० देखि उक्त सडक निर्माणको काम सुरु गरेको तेडी निर्माण सेवाले पनि ३ किलोमिटर सडक कालोपत्रे गरेर पुस ३० मा हस्तान्तरण गर्ने तमसुक गरेको थियो । भदौ २३ मा भएको तमसुक अनुसार असोज ३० सम्म सब बेसको काम गर्ने, कार्तिक ३० सम्म बेसको काम गर्ने, मंसिर १५ सम्म पहिलो लेयरको कालोपत्रे गर्ने, मंसिर ३० सम्म दोस्रो लेयरको कालोपत्रे गर्ने र पुस ३० मा हस्तान्तरण गर्ने सम्झौता भएको थियो । उक्त कम्पनीले भने हालसम्म कालोपत्रेको काम सुरु समेत गरेको छैन ।

सडक निर्माणमा चरम ढिलासुस्ती पछि सो सडक क्षेत्रमा पर्ने वडा नम्बर ३, १०, ११ र १२ का वडाध्यक्षहरूले भदौ १९ गते देखि सडकबाटै सेवा दिँदै चरणबद्ध आन्दोलनका कार्यक्रम गरेपछि पूर्वाधार विकास कार्यालय, ठेकेदार बिच तमसुक भएको थियो । तर, तमसुक अनुसार काम नहुँदा पनि जनप्रतिनिधिले पनि वास्ता नगरेको स्थानीयको भनाइ छ ।

चौकिडाँडा फल्टुडे सडक अन्तरगत दुवै ठेकेदारले करिब साढे ५ किलोमिटर सडक अलपत्र पार्दा स्थानीयले भने सास्ती खेपिरहेका छन् । लामो समय देखि सडक अलपत्र छोडिदा बर्खामा हिलाम्मे र सुख्खा मौसममा सडक धुलाम्मे हुने गरेको छ ।

सडक निर्माणमा ठेकेदारले चरम लापरबाही गरेपछि आजित स्थानीयले शनिवार (चैत २१) सडक बन्द गरिदिएका छन् । स्थानीयले सडक धुलाम्मे भएर समस्या भएको भन्दै उक्त सडकमा सवारी साधनमा रोक लगाएका हुन । जसका लागि उनीहरूले सडकमा रुख, काठ, ढुङ्गा, डोरी बाँधेर सडक बन्द गरेका छन् । स्थानीयले बाटो बन्द गरेको ठाउँमा ठेकेदार हराएको हुँदा बाटो बन्द गरिएको समेत ब्यानर टाँसेका छन् । यस्तो अर्को ब्यानरमा उनीहरूले स्थानीय सरकार, प्रदेश सरकार, लापता भएकोले विरोध स्वरूप ट्याक्टर, बस, टिप्पर लगायतका ठुला सवारी साधनलाई आवतजावतमा पूर्ण रूपमा रोक लगाइएको लेखेका छन् ।

स्थानीय कृष्ण जोशीले सडक चाँडो निर्माण होस भनेर दाबाव दिन सडक बन्द गरिएको बताए । उनले एक महिना अघि पनि दबाब दिँदा सडक निर्माणको काम सुरु गरिएको भए पनि पुनः ५/७ दिनमै ठेकेदार गायब भएको बताए । उनले गर्मीको समयमा सडक धुलाम्मे हुँदा निकै सास्ती खेप्नुपरेको बताए । ‘सडक धुलाम्मे हुँदा चिसो समयमा हामी आफै घर अगाडि पानी हाल्ने गरेका थियौ’ उनले भने ‘अहिलेको चर्को गर्मीको समयमा त घरबाट पानी हालेर साध्य नै छैन । त्यसैले यो सडक चाँडो निर्माण होस भनेर दबाब दिन विरोध स्वरूप सडक बन्द गरेका हौ ।’


२२ चैत २०८२, आइतवार १०:३६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु