नेपाल प्रहरी र सशस्त्रका एसपीदेखि जवानसम्मलाई तयारी अवस्थामा बस्न सर्कुलर

काठमाडौँ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ) मुख्यालयले एसपीदेखि जवानसम्मलाई शनिबार बिहान ७ बजेभित्र हेडक्वार्टर र अन्य युनिटको हकमा ७ बजे नै चुस्ता पोसाकमा तयारी हालतमा बस्न सर्कुलर जारी गरेको छ ।

शुक्रबार राति प्रहरी महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालसँग नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गृह मन्त्रालयमा छलफल गरी फर्किएपछि दुवै हेडक्वार्टरले यस्तो सर्कुलर गरेका हुन् ।

सुरक्षा प्रमुखहरुसँग गृहमन्त्री गुरुङले जेन-जी आन्दोलनमा दमन गर्ने राजनीतिक र प्रशासनिक उच्च अधिकारीमाथि अनुसन्धान गर्ने विषयमा छलफल भएको थियो । मन्त्री गुरुङले उनीहरुलाई पक्राउ गरेर नै अनुसन्धान गर्नुपर्ने विषय उठाएका थिए । कानुनअनुसार अघि बढ्नुपर्ने कुरा उठेको थियो तर, सुरक्षा प्रमुखहरुले गृहमन्त्रीसँग भेटेर बाहिरिएपछि मातहत फौजलाई चुस्तामा उपस्थित हुन यस्तो परिपत्र गरेका हुन् ।

अवकाशप्राप्त एक एआईजीका अनुसार यस्तो सर्कुलर फिल्डमा तैनाथ फौजको ब्याक सपोर्टमा रहन यसरी तयारी हालतमा राखिन्छ । जेन-जी आन्दोलनका बेला प्रधानमन्त्री, गृहमन्त्री, गृहसचिव, प्रजिअलगायतलाई अनुसन्धान गर्नुपर्ने अवस्था आएमा उत्पन्न्न परिस्थिति सामना गर्न तयारी हालतमा राखेको हुन सक्ने ती पूर्वएआईजीको भनाइ छ ।

अद्यपी यी दुवै संगठनका उच्च अधिकारीले हालसम्म  यस विषयमा औपचारिक  प्रतिक्रिया भने दिएका छैनन् ।


१३ चैत २०८२, शुक्रवार २३:३४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु