सेती-कर्णाली जलयात्रा महोत्सव

डोटी। सुदूरपश्चिममा साहसिक पर्यटनको सम्भावनालाई उजागर गर्ने लक्ष्यसहित सेती–कर्णाली जलयात्रा महोत्सव सुरू भएको छ । प्राकृतिक स्रोत र नदी प्रणालीलाई पर्यटनसँग जोड्दै प्रदेशको आर्थिक समृद्धिमा टेवा पुर्‍याउने उद्देश्यले महोत्सव आयोजना गरिएको हो । सोमबार डोटीको सेती नदीबाट सुरू भएको जलयात्रा कैलाली हुँदै कर्णाली नदीको जलमार्ग पार गर्दै टीकापुरसम्म पुग्नेछ । लामो दूरीको र्‍याफ्टिङमार्फत यस क्षेत्रको पर्यटन सम्भावना परीक्षण र प्रवर्द्धन गर्ने लक्ष्य लिइएको आयोजकले जनाएको छ ।

प्रदेश सरकारअन्तर्गतको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको पहलमा सुरू भएको महोत्सवले स्थानीय तह, निजी क्षेत्र र पर्यटनसम्बद्ध निकायबीच सहकार्यको नमुना प्रस्तुत गरेको छ । नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा सञ्चालन भएको कार्यक्रममा बोगटान फुड्सिल गाउँपालिकासहित कैलाली, सुर्खेत र बर्दियाका स्थानीय तहहरूको पनि सहकार्य रहेको छ ।

महोत्सवमा विदेशी र स्वदेशी गरी ५० जना सहभागी छन्, जसमा जलयात्रा गाइड, चालक तथा पर्यटकहरू समावेश छन् । प्राविधिक व्यवस्थापन कर्णाली र्‍याफ्टिङ एन्ड एडभेन्चर प्रालि ले सम्हालेको छ । यसअघि परीक्षणका रूपमा गरिएको जलयात्राबाट प्राप्त अनुभवका आधारमा अहिले औपचारिक रूपमा महोत्सव सञ्चालन गरिएको जनाइएको छ ।

आयोजकका अनुसार जलयात्रा महोत्सवले सुदूरपश्चिममा साहसिक पर्यटनको नयाँ गन्तव्य पहिचान गर्न मद्दत पुर्‍याउनेछ । नदी, पहाड र प्राकृतिक सौन्दर्यको संयोजनले यो क्षेत्रलाई अन्तर्राष्ट्रिय पर्यटकका लागि आकर्षक गन्तव्य बनाउन सक्ने विश्वास गरिएको छ । मन्त्रालयका सचिव दीर्घनारायण कोइरालाले जलयात्राको शुभारम्भ गर्दै प्राकृतिक स्रोतको सदुपयोगमार्फत प्रदेशलाई समृद्धितर्फ अघि बढाउने यस्ता प्रयासलाई निरन्तरता दिनुपर्ने बताए। सहभागीहरू आइतबार नै दिपायल पुगेर तयारीमा जुटेका थिए ।


१० चैत २०८२, मंगलवार १४:४२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु