रास्वपाको अभिमुखीकरण कार्यक्रम सम्पन्न

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको दुई दिनको अभिमुखीकरण तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि आयोजना गरिएको सो कार्यक्रम “परिवर्तनको नेतृत्व, परिणामको राजनीति” भन्ने मूल नारासहित चैत्र ३ र ४ गते ललितपुरमा सम्पन्न भएको हो ।

कार्यक्रमको सुरुवातमा पार्टीका सभापतिद्धय डीपी अर्याल र डा . स्वर्णिम वाग्लेले घण्टी बजाएर संयुक्त रूपमा उद्घाटन गर्नुहुँदै जनताबाट प्राप्त विश्वासलाई परिणाममुखी उपलब्धिमा रूपान्तरण गर्न सांसदहरूको भूमिका अत्यन्त महत्त्वपूर्ण रहेको बताए ।

उपसभापति डा. वाग्लेले आफ्नो सम्बोधनमा प्रभावकारी संसदीय अभ्यास, नीतिगत स्पष्टता र उत्तरदायित्वपूर्ण नेतृत्वमार्फत जनअपेक्षा पूरा गर्नुपर्नेमा जोड दिए । त्यस्तै उपसभापति अर्यालले चुनावी अभियानका अनुभवहरू साझा गर्दै सांसदहरूलाई जनतासँग नजिक रहेर काम गर्न निर्देशन दिए । सहमहामन्त्री विपिनकुमार आर्चायले सञ्चालन गरेको सो कार्यक्रममा नवनिर्वाचित सांसदहरूलाई प्रभावकारी, उत्तरदायी र परिणाममुखी संसदीय भूमिकातर्फ उन्मुख गराउने उद्देश्य लिएको थियो ।

दुई दिनसम्म सञ्चालन भएको कार्यक्रममा सांसदहरूलाई नेपालको संवैधानिक व्यवस्था, सङ्घीय संसद्को संरचना तथा कार्य प्रणाली, विधायन प्रक्रिया, संसदीय समितिहरूको भूमिका, बजेट तथा योजना निर्माण, नीति विश्लेषण, सुशासन र पारदर्शिताका मापदण्ड जस्ता विषयहरूमा विस्तृत जानकारी प्रदान गरिएको थियो। पूर्व सचिवहरू, विषय विज्ञहरूले सहजीकरण गरेका सत्रहरूले सांसदहरूलाई व्यवहारिक ज्ञान र दृष्टिकोण विकासमा सहयोग पुगेको छ ।

कृत्रिम बुद्धिमत्ता र एल्गोरिदमले लोकतन्त्र, शक्ति सन्तुलन र सुशासनमा पार्ने प्रभावबारे पनि विशेष प्रस्तुति राखिएको थियो । कार्यक्रममा पुनः निर्वाचित सांसदहरूले आफ्नो संसदीय अनुभव प्रस्तुत गर्दै चुनौती, सिकाइ र कार्यशैलीबारे जानकारी दिएका थिए।

साथै समूहगत छलफल तथा ब्रेनस्टोर्मिङमार्फत् सांसदहरूलाई विभिन्न रणनीतिक सवालहरूमा छलफल चलाइएको थियो । आगामी संसदीय कार्यदिशा तय गर्न महत्त्वपूर्ण आधार तयार भएको कार्यक्रममा योग तथा ध्यानसहितको माइण्डफुलनेस अभ्यास समेत गरिएको थियो।

समापन सत्रमा पार्टी सभापति रवि लामिछानेले पार्टीको रणनीति, दृष्टिकोण तथा नीतिगत प्राथमिकताबारे स्पष्ट पार्दै सांसदहरूलाई अनुशासित, उत्तरदायी र परिणाममुखी राजनीति अभ्यास गर्न आग्रह गरे।

उनले जनताको विश्वासलाई कार्यसम्पादनमार्फत प्रमाणित गर्नुपर्ने उल्लेख गर्दै संसद्‌भित्र र बाहिर दुवै क्षेत्रमा प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिए। रास्वपाले आफ्नो देशको इतिहास आफ्नै हातले लेख्ने प्राप्त गरेको उल्लेख गर्दै सभापति लामिछानेले यो जित रास्वपाको नभई जनताको हो भएकाले अझै धेरै जिम्मेवार बन्नुपर्नेतर्फ सचेत गराएका थिए । साथै महान् सहिदहरूको त्याग लाई मनन गर्दै सबैभन्दा महत्त्वपूर्ण मुद्दा सामाजिक न्याय भएको बताए।

सो अवसरमा उनले मधेस र कर्णालीको विकासलाई पहिलो प्राथमिकतामा राख्दै सिंगो देशलाई विकास गर्ने योजनाहरू तर्जुमा गर्नमा जोड दिए । विपक्षीहरूलाई कटाक्ष नगर्न आग्रहसमेत गरे । विश्वविद्यालयहरूले काँचुली फेर्नु पर्ने, उद्योग कलकारखाना चल्नुपर्ने, कामधन्दा निरन्तर चल्नुपर्ने, रोजगारी सृजना गर्नुपर्ने लगायतका सवालहरूमा पनि जोड दिइएको छ।

विधानमा भएको राइट टु रिकल लागू गर्छौँ भन्दै उनले मन्त्री आदिका लागि कुनै खालको भनसुन तथा समय व्यतीत गर्ने कार्य आदि समेत नगर्न आग्रह गरे। विज्ञता, क्षमताका आधारमा सरकारको गठन हुने प्रस्ट्याउँदै कसैले नेतृत्वका अगाडि नपर्दा मन्त्री नभइने भन्ने पुरानो दृष्टिकोण त्यागी जनताका सवालमा लाग्न ध्यानाकर्षण गरे।

अभिमुखीकरणले नवनिर्वाचित सांसदहरूलाई आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न आवश्यक ज्ञान, सीप, दृष्टिकोण र संस्कार विकासमा टेवा पुर्‍याउने विश्वास गरिएको छ।


४ चैत २०८२, बुधवार १९:०८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु