सुदूरपश्चिम महोत्सवमा ३ करोड ७८ लाखभन्दा बढी आम्दानी
oplus_0
धनगढी । सुदूरपश्चिमको पहिचान, संस्कृति र आ
र्थिक सम्भावनालाई उजागर गर्ने लक्ष्यसहित आयोजना गरिएको सुदूरपश्चिम महोत्सव सफलता हासिल गर्दै सम्पन्न भएको छ। आयोजकले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको आय–व्यय विवरणले महोत्सवलाई उपलब्धिमूलक र प्रभावशाली कार्यक्रमका रूपमा स्थापित गरेको छ।
आर्थिक तथ्यांकअनुसार महोत्सवबाट ३ करोड ७८ लाखभन्दा बढी आम्दानी भएको छ भने २ करोड ६३ लाखभन्दा बढी खर्च भएको छ। यसबाट करअघिको नाफा १ करोड १० लाखभन्दा बढी देखिएको छ। त्यस्तै, विभिन्न शीर्षकअन्तर्गत सरकारलाई ६० लाख ५३ हजारभन्दा बढी कर भुक्तानी गरिएको जानकारी दिइएको छ।
संघीय तथा स्थानीय तहमा करिब ५१ लाख रुपैयाँ कर तिर्नुका साथै सम्पूर्ण दायित्व पूरा गरेपछि करिब २४ लाख रुपैयाँ खुद बचत रहेको आयोजकले जनाएको छ।
कैलाली उद्योग वाणिज्य संघका पदाधिकारीहरूका अनुसार महोत्सव केवल व्यापारिक मेला मात्र नभई सुदूरपश्चिमको पहिचान, संस्कृति र सम्भावनालाई उजागर गर्ने साझा मञ्चका रूपमा स्थापित भएको छ। कार्यक्रममा कलाकार, व्यवसायी, सञ्चारकर्मी, सुरक्षाकर्मी र स्वयंसेवकको सक्रिय सहभागिताले कार्यक्रमलाई अझ सफल बनाएको उल्लेख गरिएको छ।
महोत्सव अवधिभर २ हजारभन्दा बढी स्थानीयले प्रत्यक्ष रोजगारी पाएका छन् भने स्थानीय कलाकारहरूले आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर पनि पाएका छन्। यसले प्रदेशको कला, संस्कृति र आर्थिक गतिविधिमा महत्वपूर्ण टेवा पुर्याएको विश्वास आयोजकको छ।
साथै, ‘सुन्दर सुदूरपश्चिम’ अभियानलाई निरन्तरता दिँदै प्रदेशका पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य र उद्योग क्षेत्रको सम्भावना खोजी गर्न ‘भिजन सुदूरपश्चिम’ बहसमूलक कार्यक्रमको समेत सुरुवात गरिएको छ। आगामी दिनमा अझ प्रभावकारी र व्यवस्थित रूपमा महोत्सव सञ्चालन गर्ने प्रतिबद्धता समेत व्यक्त गरिएको छ।
३ चैत २०८२, मंगलवार १६:२३ बजे प्रकाशित













