हारपछि पनि गाउँ–टोलमा आनन्द बिष्ट मतदातालाई धन्यवाद दिँदै

कैलाली।  प्रतिनिधि सभा निर्वाचनको परिणाम आफ्नो पक्षमा नआए पनि नेपाली कांग्रेसका तर्फबाट कैलाली क्षेत्र नम्बर ४ का उम्मेदवार गोरखबहादुर बिष्ट ‘आनन्द’ मतदाताबीच पुगेर धन्यवाद तथा आभार व्यक्त गरिरहेका छन्। निर्वाचन सकिएपछि उनले गाउँ–टोलमा पुगेर शुभेच्छुक, समर्थक र मतदातासँग भेटघाट गर्दै निराश नहुन आग्रह गरेका छन्।
बिष्टले मतदाताका घरदैलोमै पुगेर चुनावका क्रममा दिएको साथ, सहयोग र समर्थनका लागि कृतज्ञता प्रकट गरिरहेका छन्। उनले प्रतिनिधि सभा निर्वाचनमा मतदाताले दिएको अमूल्य मत, विश्वास र साथप्रति आफू हृदयदेखि आभारी रहेको बताए। सम्भव भएसम्म सबै गाउँ–टोलमा पुगेर धन्यवाद व्यक्त गर्ने प्रयास गरिरहेको उनले बताए।
मतदाताले देखाएको आत्मीयता, माया र समर्थनले आफूलाई जनताको सेवामा अझ समर्पित भएर काम गर्ने प्रेरणा दिएको पनि बिष्टले उल्लेख गरे। उनले मतदाताको विश्वासलाई सधैं सम्मान गर्दै क्षेत्र नम्बर ४ को विकास, समृद्धि र जनहितका लागि निरन्तर सक्रिय रहने प्रतिबद्धता जनाएका छन्।
गाउँमा पुगेका बिष्टलाई स्थानीय मतदाताले पनि उत्साहका साथ स्वागत गरेका छन्। उनीहरूले निर्वाचनमा पराजय भए पनि क्षेत्र नम्बर ४ का जनताको दुःख–सुखमा साथ नछाड्न आग्रह गरेका छन्।


२५ फागुन २०८२, सोमवार १३:३५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु