punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलाली–५ ले फेरि इतिहास दोहोर्याउला कि नयाँ सन्देश देला ?

Chaupati
safha napa

धनगढी । सुदूरपश्चिमको राजनीतिक तथा व्यापारिक केन्द्रका रूपमा चिनिने धनगढी उपमानगर पालिका समेटिएको प्रतिनिधिसभा निर्वाचन क्षेत्र कैलाली–५ यतिबेला चुनावी बहस, विश्लेषण र समीकरणको केन्द्रमा छ। धनगढी उपमहानगरपालिका पूरै र कैलारी गाउँपालिकाका दुई वडा समेटिएको यो क्षेत्र प्रदेशको प्रशासनिक तथा व्यापारिक केन्द्र हो।

यही कारण यहाँको नतिजालाई सुदूरपश्चिमको राजनीतिक दिशासूचकका रूपमा पनि हेरिन्छ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन संघारमा छ। यहाँको चुनावी माहोल फागुनको घाम जस्तै दिनप्रतिदिन तात्दै गएको छ। यो निर्वाचन क्षेत्रमा कुल मतदाता संख्या १,१०,५३९ रहेको छ ।

यसपटक १६ जना उम्मेदवार मैदानमा छन् तर मुख्य प्रतिस्पर्धा ५ जना उम्मेदवारबीच सीमित हुने देखिन्छ ।
नेपाली काँग्रेसका नरनारायण शाह मनु , नेकपा (एमाले) का यज्ञराज ढुंगाना, नेपाल कम्युनिस्ट पार्टीका प्रेम आले , राष्ट्रिय स्वतन्त्र पार्टीका डा.आनन्द बहादुर चन्द र स्वतन्त्र उम्मेदवार प्यारेलाल राना मुख्य प्रतिस्पर्धामा छन् ।

विगतको नतिजा हेर्ने हो भने यहाँ  हरेक चुनावमा मतदाताले फरक निर्णय गरेको देखिन्छ । कैलाली–५ को राजनीतिक इतिहास हेर्दा मतदाताले कुनै एक दललाई स्थायी रूपमा साथ दिएको देखिदैन।
२०६४ मा लिलाकुमारी भण्डारी (माओवादी),२०७० मा शेरबहादुर देउवा (काँग्रेस), उपनिर्वाचनमा पुष्करनाथ ओझा, २०७४ मा नारदमुनि राना (एमाले) र २०७९ मा डिल्लीराज पन्त (काँग्रेस) विजयी भएका थिए।

स्थानीय तह २०७९ मा भने धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमाल ले ५१ प्रतिशत मत ल्याएर जित निकालेका थिए। यसले दलभन्दा व्यक्तिको छवि र स्थानीय मुद्दा निर्णायक हुन सक्ने संकेत दिएको विश्लेषकहरू बताउँछन्। पालिकामा स्वतन्त्र उम्मेदवारले सहज जित निकालेका कारण पनि यहाँ दलमात्र निर्णायक हुन् भन्न नसक्ने अवस्था छ । स्वतन्त्र उम्मेदवार प्यारेलाल रानालाई यहि बिश्वासले पनि आफू सहजै जित निकाल्न सक्नु भन्ने आत्मविश्वास छ ।

काँग्रेसका मनुलाई संगठन र अनुभवमा भरोसा 

नेपाली काँग्रेसले यसपटक स्थापित नेता नरनारायण शाह मनुलाई अघि सारेको छ। दुई कार्यकाल जिल्ला सभापति भइसकेका शाह हाल प्रदेश महामन्त्रीसमेत हुन्। कांग्रेसको बलियो संगठन सञ्जाल, लामो राजनीतिक अनुभव र स्थानीय पहुँच नै उनका बलिया आधार हुन् । तर कांग्रेसको विशेष महाधिवेशनले पाखा लगाइएका शेरबहादुर देउवा पक्ष असन्तुष्ट छ त्यो कारण पनि शाह आन्तरिक दबाबमा रहेको अनुमान गर्न सकिन्छ । तर पार्टीभित्रको आन्तरिक विवाद सतहमा देखिएको छैन र एकीकृत रूपमा कांग्रेसले चुनावी मैदानमा उत्रिएको सन्देश दिन खोजेको छ।

नेकपाका आले विकास एजेन्डा र असन्तुष्टि समेट्ने रणनीतिमा

डोटीबाट लगातार जित निकाल्दै आएका प्रेमबहादुर आले यसपटक नयाँ क्षेत्रमा उम्मेदवार बनेपछि प्रतिस्पर्धा थप रोचक बनेको छ। उनलाई ‘टुरिस्ट उम्मेदवार’ भनेर आलोचना गरिए पनि उनले विकासका ठूला परियोजनालाई मुख्य मुद्दा बनाएका छन्। उनका प्राथमिक एजेन्डामा धनगढी विमानस्थल स्तरोन्नति, गेटा मेडिकल विश्वविद्यालय सञ्चालन र सेती प्रादेशिक अस्पतालको स्तरवृद्धि छन्। काँग्रेस र एमालेभित्र देखिएको असन्तुष्टिलाई आफ्नो पक्षमा पार्ने रणनीतिमा उनी सक्रिय देखिन्छन्।

एमालेका यज्ञराज ढुंगानालाई मजबुत संगठनको आश

नेकपा (एमाले) का उम्मेदवार यज्ञराज ढुंगाना पहिलोपटक प्रत्यक्ष निर्वाचनमा होमिएका हुन् । विद्यार्थी राजनीतिबाट उदायका उनी हाल एमाले कैलालीका जिल्ला अध्यक्षसमेत रहेका छन् । उनलाई निर्वाचन जित्न संगठनको मजबुतीमा विश्वास छ ।
तर एमालेले अघिल्लो पटकका प्रतिनिधि सभा सदस्य नारदमुनि रानालाई टिकट नदिँदा देखिएको पार्टी भित्रको असन्तुष्टिले प्रभाव पार्न सक्ने सम्भावना छ । रानाले टिकट नपाउँदा थारु समुदायको भोट ढुंगानाको पक्षमा नआउन सक्छ यस्को फाइदा स्वतन्त्र उम्मेदवार प्यारेलाल रानाले उठाउन सक्छन् तर  ढुंगानाले भने पार्टी एकढिक्का रहेको दाबी गरिरहेका छन् । उनको मुख्य प्रतिस्पर्धा काँग्रेससँग हुने र रास्वपाले केही मत तान्न सक्ने एमाले वृत्तमा चर्चा छ ।

रास्वपाका डा. चन्द लोकप्रियतावादको आशमा

राष्ट्रिय स्वतन्त्र पार्टीले स्वास्थ्य अभियन्ता डा.आनन्दबहादुर चन्दलाई उम्मेदवार बनाएको छ। अघिल्लो निर्वाचनमा उल्लेख्य मत पाएको रास्वपाले यसपटक देशैभरी पुराना दलप्रतिको निराशालाई क्यास गर्ने रणनीति अपनाएको देखिन्छ ।  भ्रष्टाचारविरोधी एजेन्डा र सुशासनको नारा अघि सारेर चुनावमा होमिएको रास्वपालाई पार्टी अध्यक्ष रवी लामिछाने र वरिष्ठ नेता बालेनको लोकप्रियतावाद भोटमा वद्लिने आश छ । तर चन्दको सामाजिक छवि, युवा र परिवर्तन चाहने मतदातामाझ कति प्रभाव पार्छ भन्ने चासो छ। घरदैलो र अन्तरक्रियामार्फत उनले मतदातासँग प्रत्यक्ष संवाद बढाइरहेका छन्।

स्वतन्त्र उम्मेदवार प्यारेलाल थारु भोटको भरोसामा

प्यारेलाल रानाले यस निर्वाचनमा स्वतन्त्र उम्मेदवारको रूपमा उम्मेदवारी दिएका छन् । तथापि उनी नेपाली कांग्रेसमा लामो समय राजनीति गरेका अनुभवी नेता मानिन्छन् । उनी संविधानसभा सदस्य भइसकेका  व्यक्ति हुन्। कांग्रेस छोडेर स्वतन्त्र उम्मेदवारी दर्ता गर्नुको कारणमा पार्टीभित्रको असन्तुष्टि, गुटबन्दी र नीतिगत मतभेद जनाएका उनले थारु / रानाथारु समुदायको मत जुटाउने प्रयास गरिरहेका छन् । तथापि उनलाई जितका लागि त्यति भोट प्रयाप्त भने हुँदैन तर थारु समुदायको भोटलाई अन्यन्त्र जान रोक्न सक्दा कांग्रेस र अन्य दलका प्रतिद्वन्दीहरूलाई चुनौती हुने अनुमान गरिएको छ ।

निर्णायक कारकहरु के – के छन् ?

आम मतदाता स्थिर नरहेका कारण यहाँको नतिजा दलहरु र उम्मेदवारहरुले सोचेको भन्दा फरक हुने विश्लेषकहरुको ठहर छ  यसपटक नतिजा तय गर्ने मुख्य आधारहरूमा ,दलभित्रको आन्तरिक असन्तुष्टि  जेन्जी आन्दोलन पछिको आम मतदाताहरुको मनोविज्ञान पनि हुन् । समग्रमा हेर्दा कैलाली–५ मा सहज जित कसैका लागि देखिँदैन। बलियो प्रतिस्पर्धामा आम मतदाताहरुको मनोविज्ञानलाई बुझ्न सक्ने उम्मेदवारले जित्न सक्छ। किन कि यहाँका मतदाताहरु कुनै पनि दलका स्थिर मतदाता होइनन् ।


१३ फागुन २०८२, बुधवार २२:४६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु