पश्चिमी वायुको असर: पश्चिममा बदली, पानी नपर्ने- चिसो बढ्ने, हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना
धनगढी। नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। यसका कारण पश्चिमी भू–भागमा बादल लाग्ने क्रम बढेको छ भने पूर्वी भागमा मौसम सामान्यतया सफा छ। मौसमविद् रोजन लामिछानेका अनुसार कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका पहाडी क्षेत्रहरूमा आंशिक बदली देखिएको छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपात पनि पर्न सक्ने सम्भावना छ।
तराई र मधेशका केही जिल्लामा बिहानपख हुस्सु र कुहिरो देखिएको छ। पश्चिमी वायुले बादल ल्याए पनि प्रणाली कमजोर भएकाले कुहिरो पूर्ण रूपमा हट्ने निश्चित छैन। काठमाडौं उपत्यकामा पनि आज बादल लाग्ने अनुमान छ, तर वर्षाको सम्भावना छैन। उपत्यकामा न्यूनतम तापक्रम ५ र अधिकतम १८ डिग्री सेल्सियस रहेको छ।
मौसमविद् लामिछानेका अनुसार बादल लाग्दा घाम कम पर्ने र चिसो बढ्ने सम्भावना छ। देशव्यापी ठूलो असर नपरे पनि हिमाली क्षेत्रको यात्रा गर्ने र तराईमा शीतलहरको सामना गरिरहेका नागरिकहरूले सतर्क रहनुपर्ने उनले बताए।
तराई–मधेशका जिल्लामा हुस्सु कुहिरो र शीतले जनजीवन प्रभावित भएको छ। स्थानीय सरकारहरूले विद्यालय बन्द, चोकचोकमा दाउरा वितरण र आगो ताप्ने व्यवस्था गर्दै नागरिक सुरक्षा सुनिश्चित गर्दै आएका छन्।
१७ पुस २०८२, बिहीवार ०८:५२ बजे प्रकाशित













