उग्रतारा मेला : सुदूरपश्चिमको आस्था, संस्कार र एकताको प्रतीक
धनगढी। सुदूरपश्चिम प्रदेश धार्मिक, सांस्कृतिक र ऐतिहासिक धरोहरहरूको पावन भूमि हो। यहाँका सांस्कृतिक सम्पदा, धार्मिकस्थल र विविध जात्राहरूले यहाँको माटोमा आस्थाको सुगन्ध छरेका छन् । यहाँका प्रत्येक डाँडाकाँडामा देवी देउताको बास छ भन्ने जनविश्वास छ। त्यसैले सुदूरपश्चिमका पहाडी जिल्लाहरूलाई “देवभूमि” पनि भनिन्छ। हरेक वर्ष यहाँका विभिन्न धार्मिक स्थलहरूमा हजारौँ भक्तजनहरूको उपस्थितिसँगै भव्य मेला लाग्ने गर्छ।
म स्वयंले सुदूरपश्चिमका धेरै धार्मिक स्थलहरूको भ्रमण गरेकी छु, तर मेलाको वास्तविक अनुभव भने यसअघि लिन सकेकी थिइनँ। यसपटक भने मलाई डडेल्धुरामा अवस्थित प्रसिद्ध शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा लाग्ने “देही जात” (मेला) हेर्ने सौभाग्य प्राप्त भयो।
कार्तिक शुक्ल पूर्णिमाको दिन लाग्ने उग्रतारा मेलालाई डडेल्धुराकै सबैभन्दा ठूलो धार्मिक उत्सव मानिन्छ। यस वर्ष मेला कार्तिक १९ गते परेको थियो। यो मेरो जीवनको पहिलो उग्रतारा यात्रा थियो जसले मेरो मनमा गहिरो छाप छोडेको छ ।
कार्तिक १८ गते दिउँसो करिब २ बजे धनगढीबाट डडेल्धुरातर्फ यात्रा सुरु गरें। साथमा रमा म्याडम हुनुहुन्थ्यो। अत्तरियामा पुग्दा अरू दुईजना साथी पर्खिरहेका थिए, त्यसपछि पाँचै जना मिलेर करिब ३:३० बजे डडेल्धुरातर्फ लाग्यौं। बाटोमा हाँसो–ठट्टा, सुदुरपश्चिममा कुनै समय रहेको देउकी प्रथा र उग्रतारा भगवतीको उत्पत्ति सम्बन्धी किम्बदन्तीहरू बारे कुरा गर्दै अघि बढ्दै गयो।
गोदावरी पार गर्दा कसैले नास्ता खाने कुरा उठायो, तर मैले नखाने भनेपछि सीधा सहजपुर पुग्यौं। त्यहाँ हल्का खाजा खायौं र चिसो पहाडी हावाले यात्रा अझ रमाइलो बनायो। साँझ बुडर बजारमा चिया र दूधको मिठाई खाँदा भने अलि असहज महसुस भयो। त्यसपछि केहीबेरमै उल्टी भयो — दुईचोटि लगातार। शरीर अस्वस्थ थियो तर मनमा भने एउटा मात्र कुरा चलिरहेको थियो- उग्रताराकोमेला हेर्ने।
राति करिब १० बजे डडेल्धुरा पुग्दा सबै होटल भरिएका थिए। अन्ततः महेश्वरी होटलमा खाना खाएर म र म्याडम भाइको ससुरालीमा बास बस्न गयौ।
मैले बिहान ४ बजे नै उठेर “चार गाउँको चहलो” हेर्ने योजना बनाएर सुतेको थिएँ । स्थानीयहरूका अनुसार त्यो बेला मनले मागेको कुरा पूरा हुन्छ रे तर थकाइ र अस्वस्थताका कारण ढिलो उठें। बिहान ५ बजे उठ्दा रिस पनि उठ्यो ।मैले मेडमलाई भने उठाइदिनु पर्छ नि ! म त्यो दृश्य हेर्न त आएको थिएँ । मेडमले आफू राती निदाउन नसकेकोले बिहान निदाएको बताउनु भयो र हामी बिहानको नित्यकर्म सकेर
७ बजे पुजा सामग्री लिएर हामी मन्दिरतर्फ लाग्यौं।
बाटोमा दर्शनार्थी कोहि मन्दिर जाँदै थिए कोहि फर्किदै थिए ।बिहानको कलिलो घामले न्यानो छरिरहेको थियो । उज्यालो वातावरणमा घण्टी र मन्त्रको ध्वनि , धुप र भक्तजनहरूको भीडले मन्दिरको वातावरणलाई पवित्र र सुगन्धित बनाएको थियो।

यो पटक उग्रतारा भगवतीको मन्दिर देख्दा मन अनौठो तरिकाले शान्त भयो। यो भन्दा अगाडी मैले त्यस्तो महसुस गरेको थिइन गणेश पूजापछि जब म उग्रतारा भगवतीको दर्शन गर्न भित्र गएँ, मनमा अनौठो खालको अनुभुती भयो केही सेकेन्ड मै मेरा हात काँपे सास फेर्न गाह्रो भयो, आँखा रसाए। त्यो क्षणमा मैले माताको अदृश्य शक्ति महसुस गरेँ। म्याडमले हात समातेर बाहिर ल्याउनुभयो। बाहिर आएपछि आँखामा आँसु आयो तर मनमा भने शान्तीको अनुभुती भयो ।

१० बजेतिर भक्तजनको भीड झनै बढ्यो। तल बजारमा जलेबी, पुरी, माडा, सुन्तला, चाउमिन र स्थानीय परिकारहरूले मेलाको रौनक बढाइरहेका थिए।
उग्रतारा मेला आस्था, व्यापार र संस्कृतिको संगम
उग्रतारा भगवती मन्दिर अमरगढी नगरपालिका–७, पोखरामा अवस्थित सुदूरपश्चिमकै प्रसिद्ध शक्तिपीठहरूमध्ये एक हो। धार्मिक रूपमा यो स्थल अत्यन्त पवित्र मानिन्छ। कार्तिक पूर्णिमाको रातमा “रतौडी” र दोस्रो दिन “देउसेडी” मेला लाग्छ।
बिहान ४ बजे चार गाउँ — छचोडा, खनमडा, दुमडा र जिलोडाबाट “देउरो” (भगवतीको डोली) लिएर भक्तजनहरू मन्दिरमा पुग्छन्। दमाहा, शंख, घण्टा र रुइसिङका बाजासँगै पूजा सुरु हुन्छ। देवीको प्रतिमालाई चार दिशामा घुमाइन्छ, जसले शक्तिको विस्तारलाई जनाउँछ।

यो मेलाले धार्मिक आस्था मात्र होइन, सांस्कृतिक एकता र आर्थिक अवसर पनि ल्याउँछ। हजारौं भक्तजनहरू यहाँ आउँछन्, भेटघाट गर्छन्, व्यापार गर्छन्। स्थानीय फलफूल, परिकार र हस्तकला लगायतका वस्तुहरूको राम्रो बजार लाग्छ। यसरी उग्रतारा मेला सुदूरपश्चिमको संस्कृतिलाई जोड्ने सेतु बनेको छ।
स्थानीय किम्बदन्तीअनुसार करिब २५ सय वर्षअघि लटाउलीका साँकी जातिका एक किसान हलो जोत्दै गर्दा जमिनबाट रगत बग्न थाल्यो। त्यही स्थानबाट देवी प्रकट भइन्, र त्यहीँ आजको उग्रतारा भगवती मन्दिर स्थापना भयो।
जनविश्वास छ — उग्रतारा माताको दर्शन गरे दैवी प्रकोप टर्छ, मनोकामना पूरा हुन्छ र घरमा सुख–समृद्धि आउँछ। यही आस्थाले प्रत्येक वर्ष हजारौं भक्तजनलाई यहाँ तान्छ।
पूजा सकिएपछि हामी घटालथान पनि गयौं — सानो तर सुन्दर स्थान, जहाँको शान्त वातावरणले मनलाई शीतल बनाउँछ । दिउँसो फर्किएर भाइको ससुरालीमा खाना खायौं, थोरै विश्रामपछि पुनः मेलास्थल पुग्यौं। भीडभाड, संगीत र रंगीन माहोलले त्यो अनुभव अझ अविस्मरणीय बनायो।

साँझ ४ बजे डडेल्धुराबाट धनगढीतर्फ फर्कियौं। सहजपुरको N14 होटलमा रोकिएर खाना खायौं। बाटोमा पुनः अलिकति असहज भयो तर पनि राति ११ बजे धनगढी पुग्दा मनमा भने सन्तुष्टि थियो । आखिर मानिसले खोज्ने पनि शान्ति र सन्तुष्टि त हो नि ।
२५ कात्तिक २०८२, मंगलवार १९:३९ बजे प्रकाशित
















