शेरबहादुर मृत्यु प्रकरण : विकास मल्ललाई सफाइ, परिवार उच्च अदालत जाने

धनगढी। कैलालीको गोदावरी नगरपालिका– १० खमौराका शेरबहादुर चौधरीको हत्या आरोपित एक जनालाई जिल्ला अदालत कैलालीले सफाइ दिएको छ।

असोज २३ गते राति स्थानीय लोकेन्द्र मल्ल (लक्की) र उनका सहोदर भाइ डडेल्धुराको गन्यापधुराका विकास मल्लले लखेटेर मारेको भन्दै आफन्तले किटानी जाहेरी दिएका थिए। तर, विकास मल्ललाई अदालतले सफाइ दिएपछि उच्च अदालत जाने तयारी गरिएको हो।

मध्यरातमा घरमै आएर मार्ने भन्दै ढोका तोड्न थालेपछि पछाडिको ढोकाबाट भागेका शेरबहादुर असोज २४ गते मृत फेला परेका थिए। आफन्तले राति लखेटेर मारेको भन्दै दुवै जना विरुद्ध किटानी जाहेरी दिएका थिए।

इलाका प्रहरी कार्यालय मालाखेतीमा किटानी जाहेरीपछि प्रहरीले जिल्ला अदालत कैलालीमा मुद्दा दर्ता गरेको थियो। अदालतले लक्की मल्ललाई पुर्पक्षका लागि काराकार चलान गरे पनि विकास मल्ललाई भने सामान्य तारेखमा रिहा गरेको हो। विकासलाई छोडिएपछि आक्रोशित शेरबहादुरका आफन्त अहिले आन्दोलित बनेका छन्। उनीहरूले इलाका प्रहरी कार्यालय मालाखेती घेराउसमेत गरेका थिए।

शेरबहादुरको न्यायका लागि गठित सङ्घर्ष समितिका संयोजक बाबु राम चौधरीले सरकारी वकिलको कार्यालयले उच्च अदालतमा मुद्दा गर्दा गर्ने आश्वासन दिएपछि तत्कालका लागि आन्दोलनका कार्यक्रम स्थगित गरिएको बताए।

इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी रण बहादुर चन्दले सरकारवादी मुद्दा भएकाले जिल्ला अदालतबाट आएको आदेशमा चित्त नबुझे पुनरावेदन गर्न सकिने बताए। उनले पीडित पक्ष र सरकारी वकिलको कार्यालयमा भएको छलफलमा पुनरावेदन मुद्दा दर्ता गर्ने मौखिक सहमति भएको बताए।

असोज २३ गते राति ढोकामा हान्दै मार्ने धम्की दिएपछि पछाडिको ढोकाबाट भागका शेरबहादुरको भने असोज २४ गते घर नजिककै खोलामा शव फेला परेको थियो। उनको शव घर नजिकै ओलानी र गोदावरी नदी मिल्ने दोभानमा फेला परेको थियो। त्यसपछि मृतकका आफन्तले घरको ढोकामा हान्दै मार्ने धम्की दिएका लक्की मल्ल र विकास मल्लले शेरबहादुरलाई लखेटी लखेटी मारेको भन्दै इलाका प्रहरी कार्यालय मालाखेतीमा किटानी जाहेरी दिएका थिए।

 


२३ कात्तिक २०८२, आइतवार ११:२५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु