समाजसेवी दाउत तामाङले पुनर्वास नगरपालिकालाई अत्यावश्यक सामग्री सहयोग गरे
धनगढी। पुनर्वास नगरपालिका २ अरुनीको बस्तीका बासिन्दा समाजसेवी तथा व्यवसायी दाउत तामाङले सामाजिक उत्तरदायित्व अन्तर्गत पुनर्वास नगरपालिकालाई सहयोग गरेका छन् । भदौ २३ र २४ गतेको ‘जेन जी’ आन्दोलनले पुनर्वास नगरपालिकामा भएको क्षतिले दैनिक कार्य गर्न समस्या भए पछि कार्यलय सञ्चालनमा सहजता प्रदान गर्न दाउत कन्सट्रक्सनका सञ्चालक तामाङले नगरपालिकालाई सहयोग गरेको बताएका छन्।
उनले विहिवार नगरपालिकामै पुगेर दुई थान टिन दराज, दुई थान टेबुल, दुई थान प्रिन्टर र चार थान कम्प्युटर नगरप्रमुख तोया प्रसाद शर्मालाई हस्तान्तरण गरेका हुन्।
सामग्री बुझ्दै नगरप्रमुख शर्माले दाउत तामाङले देखाएको समाजसेवी भावना प्रशंसनीय रहेको बताए । साथै अन्य समाजसेवीलाई पनि यस्तै सहयोगका लागि आह्वान गरे। उनले नगरपालिकामा अत्यावश्यक सामग्रीहरु सहयोग गर्न सकिने भएकाले तामाङको योगदानले अन्य समाजसेवीलाई पनि प्रेरणा दिने विश्वास व्यक्त गरे।
नगरप्रमुख शर्माले दाउत तामाङ अन्य समाजसेवीहरूको लागि प्रेरणाको पात्र बनेको समेत बताए।
सामाग्री हस्तान्तरण पछि दाउत कन्सट्रक्सनका सञ्चालक तामाङले ‘किशोर तमाङ, महेश बिक्रम शाही, यज्ञ खड्का, खगेन्द्र ओझा, रविन्द्र तमाङ र बुवा मनु बमजम तामाङको प्रेरणाले उक्त सामाग्री हस्तान्तरण गर्न आफुलाई थप हौसला मिलेको बताए ।
३ असोज २०८२, शुक्रवार ०९:३८ बजे प्रकाशित













