दोधारा चाँदनीको जर्का टोलमा पस्यो जोगबुडाको बाढी, दुई दर्जन बढी परिवार विस्थापित
कंचनपुर। तीन दिनदेखि लगातार वर्षापछि जोगबुडा नदीको बाढी जर्का टोलमा पसेको छ । दोधारा चाँदनी नगरपालिका ८ नम्बर वडाको यो टोलमा बर्सेनी जोगबुडा नदीको बाढी पस्ने गरेको छ ।
यस वर्ष पनि वस्तीमा बाढी पसेको छ । बाढीले मानवीय क्षति भएको छैन । जोगबुडा नदी किनार जर्का टोल छ । बाढीले हालसम्म वस्तीका दुई दर्जन बढी घर परिवार विस्थापित भएका छन् ।
वडा कार्यालयको अगुवाईमा सुरक्षाकर्मी र स्थानीयको सहयोगमा बाढीमा फसेका वासिन्दाको उद्धार गरी सुरक्षित राखिएको छ । अहिले विस्थापित वासिन्दा जनज्योति माध्यमिक विद्यालयमा राखिएका छन् ।
जोगबुडा नदीको बाढीले वडा नं. ७ र ८ का वासिन्दा विस्थापित भएका छन् । जोगबुडा नदीको बाढी वस्ती आएपछि डुबान भएर उनीहरु सुरक्षित स्थानमा सार्न थालिएको वडा अध्यक्ष ओम प्रकाश रोकायाले बताए ।
जरका टोल नजिक अर्को वस्ती रामपुरे टापु छ । यो टापुरका वासिन्दा पनि बर्सेनी बाढीको चपेटामा पर्दै आएका छन् ।
दोधारा चाँदनी खबर अनलाइनलाई समुदायिक विपद् व्यवस्थापन समितिका अध्यक्ष टिका मगरले बाढी प्रभावित परिवारलाई प्राथमिक चरणमा अस्थायी आवासको व्यवस्था गरिएको छ ।
उनीहरुलाई सुरक्षित खानेपानी, स्वच्छता र स्वास्थ्य सम्बन्धी सेवा प्रदान गर्ने काम भइरहेको छ अध्यक्ष मगरलाई उद्धृत गर्र्र्दै समाचारमा उल्लेख गरिएको छ ।
जर्का टोलका ५२ घर परिवारमध्ये जोखिम भएका परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।
स्थानीय तह, विपद् समिति र सुरक्षा निकायबीच समन्वय गरी राहत तथा पुनःस्थापनाको प्रयास जारी राखेका छन् ।
दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले आइतबार निरन्तर वर्षा भइ रहेकाले जोगबुडा नदीको बाढी वस्तीमा पस्न सक्ने भएकाले सतर्कता अपनाउन स्थानीयलाई आग्रह गरेका थिए ।
दोधारा चाँदनी नगरपालिकाका मेयर लिम्बु सहित विपद् व्यवस्थापन समिति, वडा समिति बाढी पीडित वासिन्दालाई सहयोगका सक्रिय रुपमा लागेका छन् ।
१६ भदौ २०८२, सोमवार १४:०५ बजे प्रकाशित













