डबल डिग्रीको नाममा विद्यार्थी ठग्दै धनगढीका इन्स्टिच्युट

धनगढी। कैलालीमा डबल डिग्रीको नाममा विद्यार्थी ठगी हुने गरेको पत्ता लागेपछि जिल्ला प्रशासन कार्यालय, कैलालीले धनगढीका नौ वटा इन्स्टिच्युटमा छापा मारेको छ। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) बाट निश्चित घण्टाको तालिम सञ्चालनको अनुमति लिई अवैधानिक रूपमा कक्षा ११ र १२ मा भर्ना गरेर पठनपाठन गराउँदै आएका ती संस्थामाथि प्रशासनले अनुसन्धान थालिसकेको छ।

छोटो अवधिका तालिम कार्यक्रमको नाममा विद्यार्थीलाई दुई वर्षसम्म ‘डबल डिग्री’ को लोभ देखाई फसाउने गरेको उजुरी प्राप्त भएपछि जिल्ला प्रशासन, शिक्षा विकास तथा समन्वय इकाई, धनगढी उपमहानगरपालिका र सिटिइभिटी प्रतिनिधिसहितको पाँच सदस्यीय अनुगमन समिति गठन गरिएको थियो। समितिको संयोजकत्व सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीले गरेकी थिइन्।

समितिले धनगढीमा सञ्चालन भइरहेका केही इन्स्टिच्युटमा छापा हानेपछि थप अवैधानिक गतिविधिमा संलग्न अन्य संस्थाहरू पनि प्रशासनको सम्पर्कमा आएका छन्। सहायक सिडिओ जोशीका अनुसार अनुगमन गरिएको नौ वटा इन्स्टिच्युटका कागजातहरू नियन्त्रणमा लिइएको छ र प्रारम्भिक अनुसन्धान सुरू गरिएको छ।

‘इन्स्टिच्युटहरूले कुन तालिमको लागि अनुमति लिएको हो र व्यवहारमा के सञ्चालन भइरहेको छ, त्यसको यथार्थ छानबिन गरिन्छ,’ जोशीले भनिन्, ‘यदि अवैधानिक गतिविधि देखियो भने कानुनी कारबाही हुन्छ।’

छानबिनको क्रममा कतिपय संस्थाहरूले विदेशी इन्स्टिच्युटबाट सम्बन्धन प्राप्त गरेको भनी झूठा लोगो प्रयोग गरेर विद्यार्थीहरूलाई भ्रममा पारेको प्रमाण समेत फेला परेको छ। सम्बन्धनको वैधता सम्बन्धी तथ्य अनुगमन समिति अनुसन्धान गरिरहेको र प्रतिवेदन तयार पार्ने तयारीमा रहेको स्थानीय प्रशासन शाखाका राममूर्ति सिंहले जानकारी दिए।

प्रशासनका अनुसार छापा परेको नौवटा इन्स्टिच्युट धनगढी उपमहानगरपालिका भित्रैका हुन्। ती हुन्— श्रीपेच एजुकेसन प्रालि, रेडिकल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी, ड्रे मिट इन्स्टिच्युट अफ हस्पिटालिटी म्यानेजमेन्ट प्रालि, सहारा ट्रेनिङ इन्स्टिच्युट प्रालि, श्री इन्स्टिच्युट अफ हस्पिटालिटी एण्ड इन्फरमेसन टेक्नोलोजी, श्री किर्तीगंगा इन्स्टिच्युट अफ साइन्स एण्ड टेक्नोलोजी, श्री टेक्निक्स अफ एडभान्स म्यानेजमेन्ट प्राक्टिसेस एण्ड लर्निङ एक्सीलेन्स प्रालि, नेक्सस इन्टरनेशनल एजुकेशन एण्ड ट्रेनिङ सेन्टर र हिमालयन एजुकेसन ट्रेनिङ एण्ड रिसर्च सेन्टर प्रालि।

तीमध्ये हिमालयन इन्स्टिच्युट यसै वर्षदेखि सञ्चालनमा आएको हो। धनगढी मात्र नभई जिल्ला भर यस्ता अनियमिततालाई लिएर प्रशासनले थप अनुगमन गर्ने जनाएको छ।

सिटिइभिटि सुदूरपश्चिम प्रदेश कार्यालयका सूचना अधिकारी दीपा जोशीले पनि परिषद्बाट मान्यता लिएका कतिपय संस्थाहरूले बेथिति गरेको स्वीकार गरेकी छन्। ‘छोटो अवधिका तालिमहरू— अधिकतम ६ महिनासम्मका— लाई मात्रै हामीले मान्यता दिने हो,’ उनले भनिन्, ‘तर, केही संस्थाहरूले घण्टाको तालिमको नाममा एकेडेमिक तहको कक्षा ११ र १२ सञ्चालन गरिरहेका छन्, जुन अवैधानिक हो।’

CTEVT सामान्यतया १६०० घण्टासम्मका तालिमलाई अनुमति दिन्छ, जसको तीन महिनाको शुल्क अधिकतम ३०–३५ हजार रूपैयाँसम्म लिइन मिल्ने व्यवस्था छ। तर, छानबिनमा पाइएको तथ्य अनुसार धनगढीका केही इन्स्टिच्युटहरूले होटेल म्यानेजमेन्ट लगायतका कार्यक्रमको नाममा १ लाख ५० हजारदेखि २ लाख १२ हजार रुपैयाँसम्म शुल्क असुलिरहेका छन्।

यस्ता संस्थाहरूले डिप्लोमा तथा फेशन डिजाइनजस्ता कार्यक्रम सञ्चालन गरी विद्यार्थीहरूलाई आफ्नो संस्थामा तालिम दिइरहेका छन्, तर प्लस–टु प्रमाणपत्रका लागि भने सरकारी वा अन्य विद्यालयमा भर्ना गराइरहेका छन्। यसरी एउटै विद्यार्थीलाई फरक दुई संस्था वा विद्यालयमा भर्ना गर्नु कानुन विपरीत हो।

विद्यार्थीहरूलाई यस खालको सेटिङको जानकारी समेत नहुने प्रमुख जिल्ला अधिकारी गोगन कुमार हमालले बताए। ‘अबदेखि कुनै पनि छोटो अवधिको तालिम दिने संस्थाले कक्षा ११ र १२ पढाउन पाउने छैन,’ हमालले भने, ‘CTEVT ले अनुमति दिएका संस्थाहरूले सम्बन्धित विषयमा मात्रै तालिम दिनुपर्नेछ। डबल डिग्रीको नाममा विद्यार्थीको किनबेच गर्न पाउने छैनन्।’

प्रशासनको निर्देशनपछि सम्बन्धित इन्स्टिच्युटहरूले नयाँ भर्ना अभियान स्थगन गरेका छन्। रेडिकल एकेडेमीका सञ्चालक प्रकाश छेडालले आफ्नो संस्थामा नयाँ भर्ना रोकिएको पुष्टि गर्दै एसईई उत्तीर्ण नभएका विद्यार्थीलाई मात्रै तालिम दिने र प्लस–टुका लागि अन्यत्र भर्ना नगराउने बताए।

तर, श्रीपेच एजुकेसनका सञ्चालक गणेश शाहीले भने एलाइन्स स्कूल खरिद गरेर त्यसकै नाममा विद्यार्थीलाई प्लस–टु भर्ना गराई श्रीपेच इन्स्टिच्युटमार्फत पढाउने कार्य गरिरहेको खुलासा गरे। यद्यपि, प्रशासनले यस्तो कार्यलाई अवैध घोषित गर्दै स्पष्ट पारेको छ— एउटै विद्यार्थी एउटै समयमै दुईवटा फरक शैक्षिक संस्थामा भर्ना हुन पाउँदैन।

 


२० साउन २०८२, मंगलवार ०७:१३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु