प्रदेश स्तरीय खेलकुद पत्रकारिता तालिम कैलालीको खानीडाँडामा सुरु
कैलाली। प्रदेश स्तरीय खेलकुद पत्रकारिता तालिम कैलालीको खानीडाँडामा सुरु भएको छ । सुदुरपश्चिम प्रदेशका खेलकुद क्षेत्रका पत्रकारहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले २ दिने तालिम आज देखि सुरु भएको हो ।
खेलकुद पत्रकार मञ्च कैलालीको आयोजना र आन्तरिक मामिला तथा कानुन मन्त्रालय धनगढीको सहयोगमा खेल विधालाई पत्रकारितामा अगाडी बढाउन पत्रकारहरुको लागि तालिमको आयोजना गरिएको आयोजकले बताए ।
२०६७ सालमा स्थापना भएको खेलकुद पत्रकार मञ्चले विभिन्न समयमा खेल विधालाई पत्रकारिताका माध्यमबाट अगाडि बढाउँदै आएको आयोजकले जानकारी दिए। विश्वभरी जति महत्वपूर्ण खेल बन्दै गएको छ त्यसै अनुरुप खेलकुद पत्रकारिताको पनि महत्व बढेको समयमा पत्रकारहरुका लागि यो तालिम ज्यादै अर्थपुर्ण रहने आयोजकले दावी छ ।
नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव बैकुण्ठराज पराजुलीको प्रमुख आतिथ्यतामा सुरु भएको कार्यक्रमको अध्यक्षता खेलकुद पत्रकार मंच कैलाली अध्यक्ष प्रदीप पाठकले गरेका थिए ।
तालिमको उद्घाटन समारोहमा नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष श्रवण देउवा, नेपाल पत्रकार महासंघ बझाङ्गका अध्यक्ष ललित सिंह, बरिष्ठ पत्रकार दिपक उपाध्याय , खेलकुद पत्रकार मञ्चका पदाधिकारी र प्रशिक्षार्थी विभिन्न मिडियामा कार्यरत पत्रकारहरुको सहभागिता रहेको छ।
२ असार २०८२, सोमवार १६:०७ बजे प्रकाशित













