धनगढीमा आजदेखि सुरु भयो श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ,मुख्यमन्त्रीले गरे उद्घाटन
धनगढी।आजदेखि धनगढीमा सुदूरपश्चिम साहित्य समाजद्वारा आयोजित श्रीमदभागवत ज्ञान महायज्ञको उद्घाटन गर्दै मुख्यमन्त्री शाहले धर्म-संस्कृति संरक्षण तथा प्रवर्द्धनका लागि प्रदेश सरकार सक्रिय रहेको बताए। उनले वैदिक सनातन धर्म, संस्कृति तथा धार्मिक क्षेत्रको प्रवर्द्धनका लागि सरकारले विभिन्न पहल गरिरहेको उल्लेख गरे।
मुख्यमन्त्री शाहले कथावाचिका पुज्य राधिका दासजीको प्रवचनले धर्म र ज्ञानलाई व्यापक बनाउन ठूलो योगदान पुगेको उल्लेख गर्दै उनलाई अलौकिक एवं अदृश्य शक्ति प्राप्त भएको विश्वास व्यक्त गरे। उनले भने, “भगवानको वास्तविक अनुकम्पा उहाँमा प्रकट हुन्छ, उहाँको वाणी सुन्न पाउनु मेरो लागि भाग्यमानी क्षण हो।”
मुख्यमन्त्री शाहले देवभूमि सुदूरपश्चिमलाई देश तथा विदेशमा चिनाउन र वैदिक सनातन धर्मलाई जीवित राख्न महायज्ञ महत्वपूर्ण रहेको बताए।
फागुन २७ गतेसम्म सञ्चालन हुने श्रीमदभागवत कथा सप्ताह ज्ञान महायज्ञमा कथावाचक भागवत मंजरी पुज्य राधिका दासीले प्रवचन दिनेछिन्।
सुदूरपश्चिम साहित्य समाजका अध्यक्ष तीर्थराज पाण्डेका अनुसार प्रदेशमा सांस्कृतिक संग्रहालय स्थापनाका लागि महायज्ञको आयोजना गरिएको हो।
२१ फागुन २०८१, बुधवार १७:३९ बजे प्रकाशित












